बैशाख १२ मा रिलिज हुने चलचित्र ‘कबड्डी’ यतिबेला चर्चामा छ। अभिनेताद्वय दयाहाङ् राई र निश्चल बस्नेतका संवादले यतिबेला बजार तताएका छन्। चलचित्रको प्रोमोमा दयाहाङ्ले मन पराएकी केटीलाई शहरबाट गाउँ गएका निश्चलले भगाएपछि उत्पन्न टकरावलाई देख्न सकिन्छ। के साँच्चिकैको घटनालाई पर्दामा ल्याउन लागिएको हो त ? हामीले अभिनेता निश्चल बस्नेतसँग जिज्ञासा राखेका थियौँ। उत्तर आउँदै जाँदा प्रश्न थपिए। उनको वास्तविक जीवनसम्म कुरा पुग्यो। उनले प्रेममा गतिलै पिडा भोगेका रहेछन्। निश्चल भन्छन्, ‘एकछिनको लागि छुट्टिनुपर्ने चिज सँधैको लागि नै छुट्टिएर गयो’। बाँकी उनकै शब्दमाः
स्कुल पढ्दाखेरी ‘कबड्डी’ कै पारा थियो। ठ्याक्कै चाहिँ होइन तर वैँश चढेको बेला एउटै केटीलाई २-३ जना केटाले मन पराउँथ्यौँ। म केटीको नजिक जान डराउथेँ, यस्तो कुरामा साथीभाई जस्तो थिइन। टाढैबाट हेरेर चित्त बुझाउथेँ। एकजना केटीलाई मैले पनि मन पराउथेँ, अरुले पनि मन पराउथे। यो सबैलाई थाहा थियो। मलाई सोझो या डराउने देखेर साथीहरु तैँले प्रपोज नगरे मैले गर्छुनित भन्दै तम्सिन्थे तर मैले त्यसो हुनबाट रोक्थेँ। नजिक पर्न डर लागेपछि मैले उनिहरुलाई नै चिठ्ठी पुर्याउन समेत लगाउथेँ।
फिल्मकै जसरी ठ्याक्कै नभएपनि ‘कबड्डी’मा भुमिका निभाईसकेपछि के-कस्तो हुने रहेछ भन्ने परिकल्पना, देखेकै घटना र सोचाईमा आउने घटनाहरुलाई जीवन्त र वास्तविकता झल्किने कसरी बनाउने भन्ने सोचबाट फिल्ममा यस्ता चिजहरु पाईन्छन्। सायद निर्देशक राम बाबु गुरुङ्गको अनुभव होला। संवाद पनि त्यस्तै तगडा-तगडा छन्। राम बाबु दाईको आफ्नै जीवनको कथा होइन तर यो कथा यथार्थ हो। लेखक पनि राम बाबु दाई नै हो त्यसकारण पनि लेखकले लेख्दा केहि कुरा आफ्नो घुसिरहेको नै हुन्छ। उहाँको पनि केहि न केहि वास्तविक अनुभव चाहिँ पक्कै छ।
मेरो अगाडीको प्रेमकथा मजाकै छ। जसको कारण यत्रो बर्ष घुमायो मलाई। उसले आफ्नो जिन्दगी चलाईरहेकी छ। विवाह गरेर खुशी छ जस्तो लाग्छ। उसको नाम नलिउँ, सोहि कारण उसलाई बाँकी जीवनमा अप्ठेरो आईलाग्न सक्छ। उसँग छुट्टिनुमा आफ्नै गल्ती होकी भन्ने महशुस गरेको छु। समय-समयमा मेरो ‘मुड चेन्ज’ भईरहन्छ। त्यसको कारण पनि ब्रेकअपको अवस्था आयो। कतिकुरा नभनेर सम्बन्धलाई बिगारेकी मैले भन्ने पनि लाग्छ। भन्ने कुरा समयमा नै नभन्दा बुझाईमा त्यसको अर्थ गलत हुन जाने रहेछ। समय बितिसके पछाडी बल्ल मेरो दिमागले आफ्नै गल्ती देख्न थाल्यो।
मैले ‘प्लस टु’ पढ्दा पनि डुल्ने, घुम्ने समय थियो तर ‘लभ अफेयर्स’लाई ‘सिरियशली’ लिन थालिसकेको थिएँ। हामीबीचमा राम्रो सम्बन्ध हुँदा-हुँदै पनि ‘मिसअण्डरस्टाण्डिङ्ग’ बढेर जान थाल्यो। म अरु नै तिर ध्यान दिरहेको र उसलाई तनाव भएको बेलामा मैले साथ दिन नसक्दा कुरा मोडिएको हो। त्यो समयमा एकछिनको लागि छुट्टिनुपर्ने चिज सँधैको लागि नै छुट्टिएर गयो। पछि गएर माफी माग्ने सम्म कुरा भयो। तर सँगै हुन सकेनौँ। त्यसपछि मैले मायाप्रेमलाई चासोको रुपमा लिन सकिन।
बिछोड भएको पनि झण्डै दश बर्ष भयो। हामीले झण्डै पहिले ३-४ बर्ष सँगै स्कूल पढेका थियौँ। उसँग अहिले पनि कुराकानी भईरहन्छ। अहिले पनि सम्झनामा आईरहन्छिन्। गहिरो चोट लागेपछि त्यति चाँडै बिर्सन सकिने रहेनछ। अहिले उसको अर्को व्यक्तिगत जीवन छ। मैले तँगारो हाल्न चाहन्न।
मेरो हाल कसैसँग प्रेम सम्बन्ध छैन तर पनि गाईगुईँ हल्लाहरु सुन्छु। साथी भनेर कोहि केटीसँग हिड्यो भने पनि त्यहाँ नयाँ नाता जोडिदिने रहेछन्। केहि समय पहिला अर्कैसँग नाम जोडिएको थियो, अहिले अर्कैसँग जोडिएको सुन्छु। ठिकै छ नि त अरुले नै प्रेममा पारिदिएका छन् भने आफैँले किन कष्ट गर्नुपर्यो र ? पहिले नै मेरो प्रेममा वियोग परिसकेको थियो। फिल्म तिर लागेपछि प्रेम सम्बन्ध बारे रुचि नबढेको होकी मैले फिल्ममा धेरै ध्यान दिईरहेको हो बुझ्न सकेको छैन।
अहिलेसम्म म अबिबाहित नै छु तर म राजेश हमाल, सलमान खान चाहिँ बन्दिन। यसो भन्दाभन्दै पनि ३३ बर्ष भएँ तर पत्याउन गाह्रो मान्छन्। घरबाट बिहेको बेला भईसक्यो भनिरहनुहुन्छ तर अहिले म कामलाई प्राथमिकता दिईरहेको छु। जोसँग बिवाह गर्छु उसलाई समय दिन सकिन भने त सम्बन्ध नै रहन सक्दैन। जबसम्म कामबाट अलिक छुट्कारा पाउँछु अनि मात्र बिहे गरौँकी भन्ने सोच हो। एक दुई बर्ष भित्र केहि कामहरु सिकिसक्छु अनि मात्र बिहे गर्छु। कुनै दिन झोक चल्यो भने फ्याट्टै बिहे गर्न सक्छु। जिन्दगी हो जे पनि हुन सक्छ। एक्लै डुकुलठ्ठक भएर कहिले सम्म हिड्नु र ?
-ठुलोपर्दा डटकमका जिवन पराजुलीसँगको कुराकानीमा आधारित।