काठमाडौँ।
थापागाउँस्थित मण्डला नाटक घरमा नाटक ‘ब्युँझिएको सिरानी’ मञ्चन हुने भएको छ । असोज १६ गतेबाट २८ गतेसम्म मञ्चन हुने यस नाटकलाई एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय जेडी तमूले निर्देशन गरेका छन् ।
अभिनय र नृत्यको संयोजनमा तयार यो नाटक मानसिक स्वास्थ्यको विषयमाथि बनेको छ । निर्देशकले यसलाई एउटा नाटक मात्र नभई मानसिक दुर्बलतामाथिको मौनता तोड्ने र छलफल गर्ने एक सशक्त अभियान रहेको बताएका छन् ।
नाटक वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार भएको यस नाटकमा रुपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरु, ग्लोरी थापा, सृजना भट्टराई लगायतका कलाकारको अभिनय छ ।
अनिल सुब्बाले कला निर्देशन गरेका छन् । झुमा लिम्बुले सङ्गीत संयोजन गरेकी छन् भने प्रवृत्ति राई, नवीन बयलकोटी र आयुषले नाटकमा सङ्गीत भरेका छन् ।