न्यूयोर्क।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सम्पन्न छैटौँ ग्लोबल फिल्म अवार्डमा अनमोल केसी र स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता अभिनेत्री बनेका छन्। चलचित्र तर्फ ‘प्रेम गीत ३’ उत्कृष्ट बनेको छ भने निर्देशकतर्फ यही चलचित्रबाट सन्तोष सेन उत्कृष्ट बने।
त्यस्तै, शिव विक उत्कृष्ट नृत्य निर्देशक बने। उत्कृष्ट डायस्पोरा चलचित्र ‘लक्का जवान’, सह-अभिनेता सुनिल थापा र सह-अभिनेत्री प्रियंका कार्की, गायिका प्रविशा अधिकारी, डायस्पोरा अभिनेता सुवास थापा बने।
चार दशक भन्दा लामो समय नेपाली चलचित्रमा योगदान दिएका अभिनेता शिव श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो भने चलचित्र अचिभमेन्ट अवार्ड अभिनेता सरोज खनालले प्राप्त गरे। गेहेन्द्र धिमाल सम्मान अभिनेता पुरण जोशी, रामकेशर बोगटी सम्मान बीना बुढाथोकी, अभियानश्री सम्मान नारायण श्रेष्ठ, सुनिल पाठक र नारायण पुरीले प्राप्त गरे। यस्तै, प्रोत्साहन पुरस्कार अनिल पाण्डे, विक्रान्त बस्नेत, केदार उप्रेती, सन्तोष रामदाम र शिव पुरीलाई प्रदान गरियो।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायतले विरुवा रोपेर अवार्डको समारोहको उद्घाटन गरेका थिए। सो कार्यक्रमको लागि नेपालबाट भुवन केसी, सरोज खनाल, शिव श्रेष्ठ, रविन्द्र खड्का, अनमोल केसी, प्रियंका कार्की, जिया केसी, निखिल उप्रेती, आयुष्मान जोशी, प्रमिला कार्की लगायत पुगेका थिए।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा अवार्ड आयोजना गरेका हुन्। स्थानीय समयानुसार शनिवार बेलुका आठ बजेदेखि क्वीन्सको मेलरोज बलरुममा अवार्ड समारोह भएको थियो।