काठमाडौँ।
प्रधानमन्त्री प्रचण्डको क्यारिकेचर गरी चर्चित बनेका हाँस्यकलाकार तथा अभिनय प्रशिक्षक घनश्याम गौतमलाई आन्द्राको क्यान्सर देखिएपछि रोगसँग लडिरहेका छन् । भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराईरहेका गौतमको किमोथेरापी सुरू भईसकेको छ ।
अघिल्लो शुक्रवार ठूलो आन्द्रामा क्यान्सर भएको पुष्टि भएको थियो । पहिलो चरणको किमोथेरापीपश्चात गौतम हाल भक्तपुरको सिर्जनागनरमा रहेको आफ्नै निवासमा फर्केका छन् । उनको उपचारको लागि करिब दुई बर्ष लाग्ने चिकित्सकहरुले बताएको गौतमले बताए ।
हाल नेपाली कलाकर्मीहरू उनलाई स्वास्थ्यलाभको कामना गर्न र आर्थिक सहयोग गर्न उनको निवास पुगिरहेका छन् । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलासहित संघका पदाधिकारिहरु, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लसहितको टिम, इन्द्रेणी समुहका कृष्ण कँडेलसहितको टिमलगायत व्यक्तिगत रुपमा धेरै कलाकर्मीहरू उनलाई सहयोग गरिरहेका छन् ।
त्यस्तै, विदेशमा रहेका कलाकर्मीहरूले पनि सहयोग गरिरहेका छन् । अमेरिकामा रहेका निर्देशक सुमन दाहालले पनि गौतमको सहयोगमा पहल थाल्ने जनाएका छन् । रङ्गकर्मीहरूले पनि सहयोग सुरू गरेका छन् । गौतमको उपचारमा कति खर्च हुन्छ भन्ने यकिन नभएपनि ठुलो रकम खर्च हुने चिकित्सकहरुले बताएको गौतमले बताए ।
गौतमले आफुले कलाकारिता गर्दा जसको क्यारिकेचर गरेँ उहाँबाट सहयोगको अपेक्षा गरेको बताए । गौतमको भनाई प्रधानमन्त्री प्रचण्ड प्रति लक्षित हो । २०७२ सालको भूकम्पले गौतमको घर भत्किएपछि प्रचण्ड उनलाई भेट्न उनको निवासमा नै पुगेका थिए ।