काठमाडौँ।
अब टेलिभिजन रियालिटी शो ‘महागफाडी’ प्रसारण हुने भएको छ । आइतवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको औपचारिक घोषणा गरिएको थियो । तर, कुन टेलिभिजनबाट प्रसारण हुने हो त्यो भने खुलाईएको छैन ।
साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने बताईएको उक्त शोको प्रकृति के हो भन्ने बिषयलाई लिएर चर्चा भईरहेको छ । पत्रकार सम्मेलनमा यसको फाईनल अष्ट्रेलियामा हुने बताईएको थियो । विजेताले रु. पन्ध्र लाख नगद र कुनै एक सवारी साधन नेपालमै प्रदान गरिने पनि जानकारी दिईएको थियो । फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने बताईएको छ ।
असोज तेस्रो साताबाट प्रसारण हुने भनिएको ‘महागफाडी’ वक्तृत्वमा आधारित हुनेछ । यसका निर्देशक नरेश नाथ योगीका अनुसार बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका यो कार्यक्रम सुरु हुन लागेको हो । योगीले भन्छन्, “मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि उपयोगी र नविन प्लेटर्फम साबित हुनेछ ।” सहभागीले शोको सिजन अवधीभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफुलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्ने छ ।
यसमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा रहेको बताईएको छ । तर, प्राथमिकता भने नेपाली भाषा नै रहनेछ । डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन् । यो कार्यक्रम १६ हप्तासम्म चल्नेछ ।
दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिने बताईएको छ । यसको निर्णायक मण्डलमा हास्यव्यङ्गय कवि शैलेन्द सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । यो कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् ।