काठमाडौँ।
केहि दिनयता चलिरहेको रोयल्टी विवाद अझै टुंगिएको छैन । रोयल्टीको बिषयमा कुरा नमिलेपछि सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सङ्गीतकार सुरेश अधिकारीले सोसल मिडियामार्फत नीजि तथा सामुदायिक रेडियोका सञ्चालकहरूलाई पेलेर वक्तव्य जारी गरेपछि अशिष्ट भएको भन्दै रेडियोहरू सम्वद्ध तीनवटा संस्थाहरूले अधिकारीका सबै कृति रेडियोमा प्रतिबन्ध लगाए । त्यसपछि अन्य सङ्गीतकर्मीहरू संगठित भई आफ्ना श्रृजना रेडियोमा बज्न नदिने धम्की दिए । त्यसलगत्तै पुनः रेडियो सम्वद्ध संस्थाहरुले सरकारी संयन्त्रलाई मात्र रोयल्टी दिने बताएपछि गीत-सङ्गीत सम्वद्ध केहि संस्थाहरूले अधिकारीका कृतिमा लगाईएको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए ।
शुक्रवार अध्यक्ष अधिकारीले सोसल मिडियामा एक वक्तव्य सार्वजनिक गर्दै क्षमायाचना गरेका छन् । उनले आफुले व्यक्त गरेका आम आलोचनात्मक शब्दहरु र आवेगवश प्रस्तुत खरो भाषा कोही कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने वा कुनै व्यक्तीप्रति समाजमा घृणा र द्वेष फैलाउने उद्देश्यले व्यक्त नगरेको जनाएका छन् ।
उनले भनेका छन्, “गत श्रावण एक गते मेरो फेसबुक वालमा पोष्ट गरेको सङ्गीत रोयल्टीको बिषयमा गलत धारणा बनाई रहेका केहि रेडियो सम्वद्ध सङ्घ संस्थाका नेतृत्वसँग विमती राख्ने क्रममा उल्लेख भएका आम आलोचनात्मक शब्दहरु र आवेगवश प्रस्तुत खरो भाषा मैले कोही कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने वा कुनै व्यक्तीप्रति समाजमा घृणा र द्वेष फैलाउने उद्देश्यले व्यक्त गरेका धारणा हैनन् । कोहीकसै व्यक्ती वा संस्थालाई तोकेर आरोप लाञ्छना वा आलोचना पनि मैले गरेको छैन । त्यो त एउटा स्रष्टाको रुपमा सङ्गीत रोयल्टी प्रति वहाँहरुका गलत धारणा र कार्य शैलि प्रतीको आक्रोश मात्रै हो ।”
उनले थपेका छन्, “तर त्यस पोष्टले आफुलाई लक्षित गरी एउटा सामाजिक व्यक्तित्वबाट प्रयोग गरिएको आलोचनाका भाषा अमर्यादित र अशोभनिय रहेको भनी रेडियो सम्वद्ध तीन संस्थाहरुले जनाएको गम्भीर आपत्तीप्रति मेरो गहिरो ध्यानाकर्षण भएको छ । अझ सङ्गीत रोयल्टीप्रति उदार रहनु भएका केही मैले सम्मान गर्ने व्यक्तित्वहरु समेत त्यस आलोचनामा मुछिएको अनुभुति गर्नुभएको कुराले म आफैँलाई पनि दुखी तुल्याएको छ । आफ्नो पेशागत हकहितको लागि सङ्गठित भएर कृयाशील रहनु भएका वहाँहरु प्रती व्यक्तिगत रुपमा मेरो सदैव सम्मान,आदर छ र रहिरहने छ । यदि आवेशवस व्यक्तिगत रुपमा प्रस्तुत मेरो शैली र मबाट व्यक्त भएका शब्दहरुले कोहि कसैलाई चित्त दुखेको छ वा आफ्नो व्यक्तित्वलाई धमिल्याएको छ भन्ने लाग्छ भने म सम्बन्धित सबैमा विनम्रतापूर्वक क्षमायाचना गर्दछु ।”
अधिकारीले स्रष्टा सर्जक हुन् या आम सञ्चारकर्मी, आफुहरूको कर्तव्य समाजलाई सभ्य विनम्र र विनयशील बनाउन प्रेरित गर्ने रहेको बताएका छन् । “हाम्रा व्यवहार र फेसबुक जस्तो सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्ति सन्तुलित सभ्य र शिष्ट रहे मात्र सभ्य समाजको निर्माणमा टेवा पुग्न जान्छ भन्ने कुरामा म आफू पनि सदैव सचेत रहँदै आएको छु र भविष्यमा पनि सचेत रहने कोसिश गर्नेछु”, उनले लेखेका छन् ।
आफुले क्षमायाचना गरेतापनि केही बिषयमा आफ्नो क्षेत्राधिकार नाघेर रेडियोका सञ्चालकहरूले राखेका अभिव्यक्तिप्रति भने आफ्नो आपत्ती र असहमती कायमै रहेको बताएका छन् । उनले भनेका छन्, “स्रष्टाहरुको कानुन प्रदत्त रोयल्टीको अधिकार र त्यसलाई व्यवस्थित गर्न राज्यले निर्धारण गरेका कानुनी प्रावधान र त्यसको निम्ती गठित संस्थाको अवमुल्यन अपमान र तिनका काम कारवाहीहरुको बिषयमा वहाँहरुले आफ्नो क्षेत्राधिकार नाघेर राख्नु भएका गलत धारणा र समाजमा तिनका अभियान विरुद्ध फिजाउनु भएको भ्रम र दिनुभएको गलत सन्देश प्रति मेरो गम्भीर आपत्ती र असहमती कायमै रहेको र यस्ता गैर जिम्मेवार कृयाकलापले स्रष्टा अधिकारको अभियानमा पुग्न सक्ने गम्भीर क्षती तर्फ वहाँहरुलाई सम्वेदनशील र जिम्मेवार रुपमा प्रस्तुत हुन पनि विनम्र अनुरोध गर्दछु ।”
यो पनि पढ्नुहोस्ः
यो पनि पढ्नुहोस्ः
यो पनि पढ्नुहोस्ः