काठमाडौँ।
काठमाडौँ महानगरपालिकाले मनोरञ्जन क्षेत्रका संघ संस्थाहरुलाई डिजिटल कारोबारको पहुँच उपलब्ध गराउन पत्राचार गरेको छ । राजस्व विभागले पठाएको पत्रमा मनोरञ्जन करका करदाताले प्रवेश गर्दा डिजिटल रुपमा शुल्क तिरेको भए ३ दिनभित्र महानगरलाई यससम्बन्धी पहुँच प्रदान गर्न अनुरोध गरिएको छ । यस्तै डिजिटल प्रणालीमा गइनसकेको भए ३० दिनभित्र प्रणाली विकास गरिसक्न भनिएको छ ।
राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेकाअनुसार, बागमती प्रदेश सरकारले जारी गरेको आर्थिक ऐन बमोजिम मनोरञ्जन करको दर र क्षेत्र निर्धारण हुन्छ । ऐनबमोजिम चलचित्र प्रदर्शन घर, सांस्कृतिक प्रदर्शन हलहरु, थियटर/नाटक घर, वाटर गार्डेन, चिल्ड्रेन पार्क, फन पार्क, जुम्बा, मसाज एवं स्पा, स्वीमिङ् पुल, पार्क, जादु, सर्कस, मेला, फुटसल, दोहोरी साँझ, नाइट क्लव लगायत क्षेत्र मनोरञ्जन करका क्षेत्र हुन् ।
यो करको प्रशासन स्थानीय तहले सञ्चालन गर्छ । यसबाट संकलन भएको रकम विभाज्य कोषमा जम्मा गरिन्छ । महिना समाप्त भएको मितिले २५ दिनभित्र मनोरञ्जन कर स्थानीय तहमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ । ३ महिनाभित्र कर तिरेमा १० प्रतिशत र त्यो अवधि नाघेमा तिर्नु पर्ने रकममा १५ प्रतिशत वार्षिक व्याज लगाइ असुल उपर गरिने नियम छ ।
चलचित्र तथा नाटक प्रदर्शन, दोहोरी साँझ, डान्स बार, नाइट क्लब, पुल जिप लाइन आदिमा प्रति टिकटमा ५ प्रतिशत, फनपार्क, वाटर गार्डेन, चिल्ड्रेन पार्क लगायतमा ३ प्रतिशतले मनोरञ्जन कर लगाइएको छ ।
महानगर क्षेत्रमा समय तोकेर खेलाइने खेल, सर्कस, मेला, जादु तथा पटके क्रियाकलापका लागि एक दिनको ५ हजार रुपैयाँ र ३० दिनभन्दा धेरै दिनको १ लाख रुपैयाँ कर तोकिएको छ ।
श्रोत: मेट्रो न्यूज