रचनात्मक सहरका लागि काठमाडौँ महानगरपालिकाले छान्यो चलचित्र विधा



कामपा उपप्रमुख सुनिता डंगोल

काठमाडौँ।
रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध छ । यीमध्ये महानगरको छनौटमा चलचित्र विधा परेको हो ।

“यी सबै विधा महत्वपूर्ण र काठमाडौँसँग सम्बन्धित छन् । तीमध्ये एउटा मात्र छान्नु पर्दा हामीले चलचित्र विधालाई छान्यौँ”, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्छिन्, “अन्य विधा छान्दा एउटै क्षेत्रमा मात्र सीमित हुनु पर्ने भयो । चलचित्रबाट सबै विधामा काम गर्न सकिन्छ ।”

दिगो सहरी विकासका लागि अन्तरराष्ट्रिय सहयोगका विषयमा कुरा गर्दै उपप्रमुख डंगोलले, चलचित्र विधाबाट विषयको प्रबर्धन सँगै तत्काल अवस्थाको अभिलेख प्राप्त हुने उल्लेख गरिन् । छानिएको बिषयमा सरोकारवालाबाट पृष्ठपोषण लिन शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले, सम्बद्ध क्षेत्र र अधिकारीबाट प्राप्त सुझावलाई विश्लेषण गरेर महानगरले उचित नीति निर्माण गर्ने बताईन् ।

“मौलिकतालाई प्रवर्धन गर्ने काम प्रशंशा योग्य छ”, कार्यशालामा बोल्दै बागमती प्रदेश सभा सदस्य शैलेश बज्राचार्यले भने, “प्रवर्धनात्मक कार्यक्रमको दिगोपनाका लागि संरक्षणात्मक कार्यक्रम सँगै लैजानुपर्छ”, सम्पदा बनाउने मानिसहरु विस्थापित भइरहेको अवस्थाप्रति संकेत गर्दै उनले भने, “पैसा तिरेर जात्रा, पर्व, पूजाआजा तथा सामाजिक सांस्कृतिक कार्यक्रम चलाउनु पर्ने अवस्था आएको छ । अमूर्त चलन चलाउने मानिसहरुलाई विस्थापित हुनबाट जोगाऔँ । उनीहरुका क्रियाकलापले अमूर्त सम्पदा पनि जोगिन्छन् । त्यसबाट मूर्त सम्पदा पनि जीवन्त हुन्छन् ।”

रचनात्मक सहरका लागि महानगरको सम्पदा तथा पर्यटन विभागले अग्रसरता लिएको उपनिर्देशक सृजु प्रधानले जानकारी दिईन् । “काठमाडौँलाई रचनात्मक सहरका रुपमा परिचित गराउन हरेक विधा उत्तिकै महत्वपूर्ण छन् । तीमध्येको चलचित्र विधाबाट धेरै काम गर्न सकिन्छ”, कार्यशालामा नेपालका लागि युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले, चलचित्रको विधाबाट काठमाडौँलाई रचनात्मक विभिन्न कोणबाट हेर्न सकिने उल्लेख गरे, “रचनात्मक सहरमा आवद्ध हुन पालिकाबाट निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना हुन्छ । यसबाट सरोकारवालाको पहिचान गरिन्छ । सरोकारवाला बिच परामर्श समूह निर्माण गरिन्छ । विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कन लगायत काम गरिन्छ ।”

कार्यशालामा सरोकारवाला प्रतिनिधिहरुले काठमाडौँ पूर्खाकै पालादेखि रचनात्मक सहर भएको उल्लेख गरे । “काठमाडौँको जनजीवन, यहाँको भूगोल, बस्ती र सांस्कृतिक सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रुचीकर कथाहरु छन् । भेषभुषा छ । खानपान छ । काठमाडौँ सहर भन्नेवित्तिकै मनमा आउने पहिलो चित्र यही हो”, कार्यक्रमका सहभागीहरुको धारणा थियो ।

यसरी प्राप्त सुझावका आधारमा ४ बर्षे कार्ययोजना र रणनीतिको मस्यौदा तयार पारिन्छ । विषयसँग सम्बन्धित राष्ट्रिय व्यवसायिक संघहरुबाट समर्थन प्राप्त गरेपछि यो प्रस्ताव युनेस्कोको राष्ट्रिय आयोगबाट अनुमोदन हुन्छ ।

फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्न भिन्न सहरलाईलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा हो । एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन् ।

यसबाट सहरहरुलाई अन्तरराष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने उद्देश्य राखिएको छ । लक्ष्यका विषयमा जानकारी दिँदै रचनात्मक सांस्कृतिक उद्योगका कार्यक्रम संयोजक सरोज कुशवाहा भन्छन्, “कार्यशालाबाट महत्वपूर्ण सुझाव प्राप्त भएका छन् । कार्यशालाको सृङ्खलाबाट प्राप्त भएका सुझावलाई समेटेर रणनीति तयार पार्नेछौँ ।”

अहिले यस सञ्जालमा विश्वभरका ३ सय वटा सहर जोडिएका छन् । यसमा संस्कृति र रचनात्मकतालाई दिगो सहरी विकासको रणनीतिका रुपमा लिने गरिन्छ ।

दक्षिण एशियाली मुलुकहरुमध्ये भारतको जयपुर र श्रीनगर शिल्प र लोक कलाको सहर, वाराणसी र चेन्नई संगीतको सहर, लाहोर साहित्यको सहर र मुम्बई चलचित्रको सहरका रुपमा विकास हुँदैछन् ।

मेट्रो न्यूज

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu