काठमाडौँ।
आगामी वैशाखको पहिलो दिनदेखि नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले छायांकनका लागि १२ घण्टाको सिफ्ट प्रणाली लागू गर्ने भएको छ । अब नेपाली प्राविधिकले बिहान ७ बजेदेखि बेलुका ७ वा बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म काम गर्नुपर्नेछ । ओभरटाइम काम गरे अतिरिक्त ज्याला दिनुपर्नेछ । नेफ्टाले चलचित्र निर्माताहरुलाई जोगाउन र जिम्मेवार श्रम संगठन सिर्जना गर्न यो प्रणालीले मद्दत गर्ने आशा राखेको छ ।
त्यस्तै, नेफ्टाले नेपालमा छायांकन गर्न आउने विदेशी चलचित्रका लागि अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक हुनुपर्ने नियम पनि लागु गरेको छ । साथै, नेफ्टाको सदस्यता नलिने प्राविधिकहरूले चलचित्रमा काम गर्न नपाउने र संस्थाबाट लाभहरू पनि नपाउने नियम बनाईएको छ । प्राविधिकको अधिकार र सुरक्षा सुनिश्चित गर्न यो नियम लागू गरिएको हो नेफ्टाले जनाएको छ ।
तेश्रो कार्यकालको लागि निर्वाचित नेफ्टाका अध्यक्ष पुष्कर लामाले प्राविधिकको अधिकार र चलचित्रको अन्तर्राष्ट्रियकरणलाई प्राथमिकतामा राखेको बताएका छन् । प्राविधिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, उनीहरुको क्षमता अभिवृद्धि गर्ने र अवार्डमार्फत नेपाली चलचित्रलाई विदेशमा प्रवर्द्धन गर्ने संस्थाको योजना रहेको लामाले बताए ।