कुनै समय नेपाली समाजमा जरो गाडेर बसेको कु-प्रथा ‘सतीप्रथा’लाई शब्दमा उतारेका साहित्यकार कृष्ण धरावासीको बहु-चर्चित कथा ‘झोला’ मा आधारित चलचित्र ‘झोला’ यो हप्ताबाट सातौं हप्तामा प्रवेश गरेको छ । गत माघ २४ गतेबाट हलमा आएको यो चलचित्रलाई हेर्नलाई सातौं हप्तामा पनि हलसम्म उत्तिकै दर्शक ओर्लिएका छन् ।
चलचित्र ‘झोला’ले कुनै एक कालखण्डको नेपाली समाजको यथार्थतालाई चित्रण गरेको छ। त्यसैले त सातौं हप्ता सम्म पनि दर्शकहरु चलचित्रलाई हेर्नको लागी हालसम्म आइरहेका छन्। यो चलचित्रका निर्माता मध्यका एक राज तिमिल्सिनाले भने, ‘हाम्रो चलचित्र सातौं हप्ता सम्म हलमा अनबरत रुपमा टिकिरहनुले यथार्थ कथामा जस्ताको त्यस्तै परिवेश पर्दामा उतार्न सकियो भने दर्शकको मन जित्न सकिँदो रैछ भन्ने प्रमाणित भएको छ।
इलाम, पाँचथर, लगाएतका पूर्वका बिभिन्न जिल्लामा शो दर्शकसँगै सिनेमा हेरेर प्रतिक्रिया लिएर फर्केका निर्माता राजले पाँचथरको फिदिममा खुल्ला चौरमा ३००० भन्दा बढि फिदिमवासी ले चलचित्र ‘झोला’ हेरेको जानकारी गराए । चलचित्रले ५२ दिन पुरा गरेपछि ‘सक्सेस्फुल पार्टी’ को आयोजना गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।
चलचित्रको प्रिमियरको लागि दर्जनौ ठाउँ बाट अफर आएको जानकारी गराउँदै एक कलाकार बाट सफल निर्माता निर्माताको छबि बनाएका राजले चलचित्र हलबाट उठेपछि मात्र प्रिमियरको लागि बिक्रि गर्ने बताए । त्यस्तै, विदेशमा प्रिमियरको लागि अमेरिका, कोरिया, अष्ट्रेलिया लगायतका ३० भन्दा बढी देशबाट चलचित्रको माग भएको ले अब केहि दिनमा नै विदेश प्रिमियरको लागि जाने तयारी मा रहेको निर्माण युनिटले जानकारी दिएको छ ।
धरावासीको कथा ‘झोला’लाई यादव भट्टराईले निर्देशन गरेर पर्दामा उतारेका हुन् । राजसँगै रामगोपाल थापा र सुशिल शाहको लगानीमा तयार भएको यो चलचित्रमा नायिका गरिमा पन्त कुनै समय श्रीमानको निधन पश्चात ‘सती’ जानुपर्ने नेपाली महिलाको भुमिकामा छिन् । राम्रो अभिनय गर्न माहिर गरिमाको हाईट ‘झोला’को सफलताले ह्वात्तै बढाएको छ ।
चलचित्रमा गरिमा पन्तसँगै देशभक्त खनाल, लक्ष्मी गिरी, दीपक क्षेत्री, सुजल नेपाल (बाल-कलाकार), प्रह्लाद खतिवडा, रामगोपाल थापा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रका प्रस्तुतकर्ता उत्तमकुमार श्रेष्ठ हुन् भने कार्यकारी निर्माता मालती शाह रहेकी छिन् ।