अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले चलचित्र ‘कृष्ण लीला’ टिमसँग जन्मदिन मनाएका छन् । चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो चलचित्रका नायक र निर्देशकको एकैदिन परेको जन्मदिनको अबसरमा बिहीबार राजधानीमा बिशेष कार्यक्रम आयोजना गरेका थिए ।
भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रका निर्देशक र अभिनेताको जन्मदिन बिशेष कार्यक्रममा अभिनेत्री श्रद्धा क्षेत्री तथा अभिनेताद्वय बुद्धि तामाङ र रबिन्द्र झा पनि उपस्थित थिए । निर्माताहरुले ‘सरप्राइज पाटी’ आयोजना गरेकोमा दुवै ‘बर्थ-डे ब्वाइ’ले खुशी ब्यक्त गरे । ‘यसरी चलचित्र टिमसँग जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको छ,’ ३२ वर्षमा लागेका पुष्पले भने, ‘यो बर्षको जन्मदिन निकै बिशेष बनाइदिनु भयो । हृदयदेखि आभारी छु ।’
‘कृष्ण लीला’मा जोडीको रुपमा प्रस्तुत पुष्प र श्रद्धाको यतिबेला प्रेम सम्बन्धको चर्चा चलेको छ । त्यसैले पुष्पको जन्मदिनमा श्रद्धाले के गिफ्ट दिन्छिन् भन्ने कौतुहलता कार्यक्रममा सबैमा थियो । उनले पुष्पलाई राधा-कृष्णको मुर्ति ‘गिफ्ट’ गरिन् । श्रद्धाले उक्त उपहार चलचित्रसँग सम्बन्धित भएको बताइन । तर, उपस्थित सञ्चारकर्मीले उनीहरुबीच अफेयर रहेको चर्चालाई थप बलियो बनाएको भन्दै प्रेम सम्बन्धि प्रश्नहरु तेर्साएका थिए । पुष्प र श्रद्धाले आफूहरु निकट रहेको भने स्वीकारे ।
पुष्पले भने- ‘मिडियामा प्रेम सम्बन्धको चर्चा चलेपछि हामीबीच यो पनि हुनसक्छ कि भन्ने ध्यान चाहिँ गयो । भविष्यमा त जे पनि हुनसक्छ । तर, अहिले हामीबीच असल मित्रता छ ।’ श्रद्धाले भने पुष्प ‘डाउन टू अर्थ’ रहेको बताइन् । तर, प्रेम चर्चाको बारेमा बोल्न चाहिनन् ।
चलचित्रमा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय छ । लक्ष्मण सुवेदीको लेखन, शिब ढकालको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको चलचित्रका ‘ए मेरो हजुर’ र ‘कुनै दिन’ गीत अहिले चर्चामा छन् । प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ रहेको चलचित्रको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् भने सह-निर्मातामा रोजन श्रेष्ठ र पिताम्बर आचार्य छन् ।