काठमाडाैँ । सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, संगीत र पत्रकारिता विधामा ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’ प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङबाट सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई शनिबार सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा सामाजिक रूपान्तरणमा प्रतिबद्धतासहित नवीनतम र अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग विशेषज्ञ तथा नेपाल सरकारका पूर्वसचिव डा दीर्घसिंह बम, गुरु रिम्पोचे कोषका अध्यक्ष आनी भीमसुवा गुरुङ, वरिष्ठ परम्परागत आयुर्वेदिक चिकित्सक रामलाल वैद्य, गीतकार प्राज्ञ उन्नति बोहोरा ‘शीला’लाई ‘विशेष नागरिक सम्मान–२०७९’ प्रदान गरिएको छ ।
यस्तै, वरिष्ठ समाजसेवी तथा खेलकुद पत्रकार पुष्पदास श्रेष्ठ, वरिष्ठ वृत्तचित्र सम्पादक मानबहादुर थापा, वरिष्ठ छायाँकारद्वय विश्वनाथ आचार्य र देवु राजवंशी, सञ्चारकर्मी शङ्कर रोक्का र तबलावादक कुन्दन शाह शङ्करलाई सम्मानित गरियो ।

पुरस्कृत हुनेहरुमा वरिष्ठ वृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल, साहित्यकार भीष्मराज फुलारा, एड्भेन्चर डाइरेक्टर नवीन त्रिताल, सञ्चारकर्मी तथा मानवअधिकारकर्मी राजनप्रसाद कुइँकेल, टेलिभिजन प्रस्तोताद्वय मनोज जोशी र विकास थपलिया, संगीतकारद्वय ओमप्रकाश राई र राजु शर्मा नेपाली रहेका छन् ।
यसैगरी लोक देउडा गायक दीपेन्द्रप्रसाद दाहाल, चलचित्र छायाँकार दिव्य सुवेदी, शृङ्गार कलाकार गीता शाह, चलचित्र अभिनेता पृथ्वीराज प्रसाईं, चलचित्र निर्देशक खुमबहादुर सुनार, सञ्चारकर्मी कोमलनाथ अधिकारी, लघु चलचित्र निर्देशक अमरबहादुर विश्वकर्मा, नृत्य निर्देशक राजकुमार दर्जी, आधुनिक लोक गायिका सुजाता केसी र अभिनेत्री आशा भुसालले पनि पुरस्कार प्राप्त गरे ।

पुरस्कारको निर्णायक समितिको प्रमुखमा वरिष्ठ चलचित्रकर्मी सुमन रिमाल थिए भने सदस्यहरुमा पत्रकार रेवती रमण खनाल, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष तथा लेखक जीवन पराजुली र पत्रकार तथा लेखक गोकर्ण बराल रहेका थिए । प्रदेश छनौट समिति संयोजकमा पत्रकारिता विकास समाजका अध्यक्ष माधव प्रसाद तिवारी रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संगीतकार तथा वरिष्ठ चलचित्रकर्मी मुरलीधर, सङ्घीय सांसद नारायण मरासिनी, नेपाली जनता दलका सङ्घीय अध्यक्ष अनुप पहाडी, उच्च शिक्षा तथा विद्यालय सङ्घ नेपाल (हिसान) का उपाध्यक्ष रामहरि सिलवाल लगायतले सम्मानित र पुरस्कृतलाई शुभकामना दिएका थिए ।