शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’लाई नेपालअघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ । चलचित्रको आगामी जुलाई ३० तारिखमा सिड्नी लगायत चार शहरमा रिलिज गर्न लागिएको हो । छोरी भेट्न हाल अष्ट्रेलियामा रहेका शोभितले त्यही मौकामा फिल्म प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । सिड्नीमा चलचित्रलाई मेगा इभेन्ट र रुक्सल प्रजापतिले पैदर्शन गर्नेछन् ।
सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्मातामा मिथुन भोटे छन् । चलचित्रमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य लगायतको अभिनय छ । यो चलचित्रबाट एलिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।
अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले फिल्मको एक गीतमा एकसाथ नृत्य गरेका छन् । टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, बिनोद सापकोटाको छायांकन र समिर मियाँको सम्पादन रहेको चलचित्रको छायांकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभामा भएको हो ।