अभिनेत्री नीता ढुंगानाले शुक्रवार प्रेमी तथा ज्योतिष अभिनेता हरिहर अधिकारीसँग लगनगाँठो कसिन् । उनीहरुले २ वर्ष १० महिना लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । ठूलो खर्चमा काठमाडौंको पाँचतारे होटल याक एन्ड यतिमा भएको भव्य विवाह समारोहमा बेहुला र बेलुली पक्षका परिवार र आफन्तसँगै उनीहरु निकट केही चलचित्रकर्मी पनि सहभागी भएका थिए ।
बिहेअघि भएको मेहेन्दी र संगीत समारोहमा बुबा भावुक हुँदा गहभरी भएकी नीता विवाह समारोहमा भने हाँसीखुशी देखिएकी थिइन् । अन्मिँदा समेत उनको आँखा रसाएका थिएनन् । हरिहरको हात समातेर बग्गी चढ्ने बेला उनले ‘बाई-बाई’ भन्दै खुशीले हात हल्लाएकी थिइन् । तर, बेहुली पहिरनमा सिंगारिँदै गर्दा उनी दिवंगत आमालाई सम्झिएर भावुक भएको बताइन्छ ।
नीताले ब्याचलर पार्टीदेखि विवाहका तस्विरहरु किस्ताबन्दीमा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेकी छन् । आइतवार उनले विवाहको मण्डपदेखि अन्मिँदासम्मका तस्विरहरु फेसबुकमा पोस्ट गरेकी छन् । तस्विरमा उनलाई हरिहरको साथमा खुशी र प्रशन्न मुद्रामा देख्न सकिन्छ । हरिहर र नीताले आइतवार काठमाडौंको एक होटलमा रिसेप्सन पार्टी दिँदैछन् ।