‘प्रसाद २’को निर्माण घोषणा, निश्चलको ठाउँमा अर्पणको प्रवेश



२०७५ सालमा प्रदर्शनमा आएको सफल चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको घोषणा गर्दै सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’को परिचय गराइयो । सुदर्शन थापाले निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा पहिला अभिनेता निश्चल बस्नेत पनि मुख्य भूमिकामा अनुबन्ध भएका थिए । तर, सौरभ चौधरी निर्देशनबाट अलगिएर सुदर्शन थापा भित्रिएपछि उनी चलचित्रबाट बाहिरिए । सुदर्शनसँग सृजनात्मक मतभेदका कारण उनी सहमतिमै चलचित्रबाट अलग भएको बताइन्छ । तर, चलचित्रको घोषणा सभामा निर्देशक सुदर्शन थापाले निश्चलसँग आफ्नो कुनै खालको मतभेद नभएको बताए ।

‘निश्चलसँग एकपटक कफी भेट हुँदा उहाँलाई मैले ‘प्रसाद २’ गर्दैछु भन्ने जानकारीबाहेक चलचित्रको बारेमा अरु केही नै कुरा भएन,’ सुदर्शनले भने, ‘पछि निर्माताले चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठबाहेक अरु क्यारेक्टरका लागि कलाकार फाइनल नभएको बताएपछि मैले त्यस क्यारेक्टरमा अर्को कलाकार कास्ट गरेको हुँ ।’ निश्चल बाहिरिएपछि चलचित्रमा अर्पण थापा भित्रिएका छन् ।

चलचित्रका निर्माता सुभाष थापाले व्यस्तताका कारण निश्चल बस्नेतले ‘प्रसाद २’मा काम गर्न नसकेको जानकारी दिए । ‘हामी टिम नफुटोस् भन्ने नै चाहन्थ्यौं । हामीले विपिन, नम्रता र निश्चल तीनै जनासँग सम्झौता गरेका थियौं । चलचित्र बन्न अलि ढिलो भएपछि निश्चल बस्नेतले व्यस्तताका कारण काम गर्न नभ्याउने बताएपछि मैले पनि त्यो कुरालाई सहजै स्वीकार गरेँ,’ उनले भने ।

दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ जहाँ टुंगिएको थियो त्यहीँबाट ‘प्रसाद २’ सुरु हुनेछ । सुशील पौडेलको लेखन रहेको चलचित्रमा विपिन, नम्रता र अर्पणका अलावा राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ ।

केशव पाण्डेसँग मिलेर सुभाष थापाले निर्माण गर्न लागेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, राजनराज सिवाकोटी र हरी लम्सालको संगीत रहनेछ । सुदर्शनले ‘प्रसाद’को आफू प्रशंसक रहेको बताउँदै ‘प्रसाद २’ वास्तविक सिक्वेल हुने जिकिर गरे । बाबुराम (विपिन) र नारायणी (नम्रता) को जीवनमा आउने सामाजिक र पारिवारिक द्वन्द्वलाई चलचित्रमा चित्रण गरिने उनले बताए ।

त्यस्तै, विपिन कार्कीले बाबुरामको क्यारेक्टरमा फर्किन आफू उत्साहित रहेको बताए । उनले भने, ‘पहिलोपटक चलचित्र गर्न लागेजस्तो मन ढुकढुक भएको छ । ‘प्रसाद’लाई सबैले रुचाएकाले त्यसको साख जोगाउन प्रयास गर्नेछौं । यसपटक बाबुरामलाई केही फरक देख्न सक्नुहुनेछ । नम्रताले भने यसपटक आफ्नो पात्र ‘मच्योर्ड’ भएर प्रस्तुत हुने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu