दीपेन्द्र के. खनालले निर्देशन गरेको नयाँ चलचित्र ‘के घर के डेरा’को छायांकन सकिएको छ । गत जेठ २ गतेबाट छायांकनमा निस्किएको चलचित्रको ३३औं दिनमा मंगलवार इन्डक्ल्याप भएको निर्देशक खनालले फेसबुकमार्फत् जानकारी दिएका छन् । चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा भएको हो ।
निर्देशक खनालले आफ्नो सोचअनुसार नै फिल्म बनाएको बताएका छन् । कलाकारहरुबाट आफूलाई राम्रो साथ मिलेको बताउँदै उनले ‘के घर के डेरा’को रिजल्ट राम्रो आउनेमा विश्वास व्यक्त गरे । आफ्ना हरेक फिल्ममा दर्शकहरुले पाउँदै आएको खुराक यसमा पनि पाउने उनको भनाई छ ।
चलचित्रलाई आगामी तिहारमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । कात्तिक ६ गते फिल्म प्रदर्शन हुने सम्भावना प्रवल छ । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतको अभिनय छ । चलचित्रको कथा सिंगो लामाको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापाको संगीत, सुव्रतराज आचार्य र डिपी खनालको शब्द रचना रहेको छ भने दिर्घ खड्काले सम्पादन गर्नेछन् ।