दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘के घर के डेरा’को शुभ मुहूर्त गरिएको छ । शुक्रवार विहान स्वयम्भुस्थित हारती माता मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको मुहूर्त गरियो । मुहूर्तपछि चलचित्रको एक दृश्य पनि खिचिएको छ ।
चलचित्रको नियमित छायांकन भने जेठ २ गतेबाट सुरु हुने निर्देशक खनालले जानकारी दिए । चलचित्रको छायांकन सेड्युल ३० दिनको राखिएको छ । चलचित्रको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिनेछ । निर्देशक खनालले चलचित्रमा आफ्नो हरेक चलचित्रमा दर्शकले पाउने सम्पुर्ण खुराक पाउने विश्वास व्यक्त गरे ।
ए प्लस इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
चलचित्रका मुख्य अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित बनाएको बताए । चलचित्रले काठमाडौंमा बस्ने सम्पुर्णको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरामा बसाईको अनुभव साटे । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रतराज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।