बैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ४’ बिहीवारबाट दोस्रो हप्तामा प्रदर्शनरत छ । साउथ चलचित्र ‘केजीएफ २’को रजगजकाबीच पनि सुखद् व्यापार गरिरहेको चलचित्रले पहिलो हप्ता ४ करोड ग्रस कलेक्सन गर्यो । दोस्रो हप्तामा पनि चलचित्रको कमाई राम्रो रहेको जानकारी प्राप्त छ । चलचित्रले दर्शक र समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ ।
हरेक चलचित्रमा अभिनयको आलोचना खेप्दै आएका अभिनेता अनमोल केसीको यसपटक दर्शकहरुले खुलेर प्रशंसा गरेका छन् । तर, समीक्षकले भने उनको अभिनयमा सुधार भएको देखेका छैनन् । शनिवार राजधानीको अष्टनारायण हलमा दर्शकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने क्रममा उनले आफ्नो लागि सबैभन्दा ठूलो समीक्षक दर्शक रहेको बताए ।
उनले भने- ‘हामीले चलचित्र दर्शकका लागि बनाएका हौं । दर्शकले नै मन पराइदिनुभएको छ, त्यो नै हाम्रो लागि खुशीको कुरा हो । हाम्रो लागि सबैभन्दा ठूलो समीक्षक दर्शक हुन् । कलाकारलाई दर्शकले बनाउने हो, समीक्षकले होइन । त्यसैले दर्शकको माया नै हाम्रो लागि ठूलो कुरा हो ।’ उनले विदेशी चलचित्रका कारण ‘ए मेरो हजुर ४’लाई प्रदर्शकले गरेको विभेदप्रति पनि चित्त दुखाए ।
‘प्रदर्शकले नेपाली चलचित्रलाई गरेको विभेदले मन त दुख्छ नै । नेपाल सरकारले नेपाली चलचित्रमा सहयोग गरिदिएको भए अझ राम्रो हुने थियो । सरकारले सहयोग नगरे पनि दर्शकहरुले साथ दिनुभएको छ, त्यही ठूलो कुरा हो,’ उनले भने । शनिवारबाट ‘ए मेरो हजुर ४’को हल दौडाहा सकाएका अनमोल यसै साता नयाँ चलचित्र ‘हनी बनी’को छायांकनका लागि बेलायत उड्दैछन् ।