गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । गीतमा माआवोदीलाई गलत रुपमा चित्रण गरेको भन्दै माओवादी पंक्तिले गीतलाई यूट्युबबाट हटाउन चेतावनी दिएपछि गायक सपुतले सोमवार फेसबुकमा स्टाटस लेख्दै आफूलाई कुनै कित्तामा नउभ्याइदिन अनुरोध गरेका छन् । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट हेर्न उनको आग्रह छ ।
उनी लेख्छन्, ‘गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु ।’
उनले गीतको पृष्ठभूमिका बारेमा पनि लेखेका छन्, ‘६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने र पस्कने मध्यका थुप्रै सहकर्मीहरु पुर्व लडाकु थिए । उनीहरु चरम निराशाबादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु ।’
उनले एउटै गीतमा सबै दृष्टिकोण अटाउन नसकिने भएकाले अर्को गीतमा अर्को कथा समेट्ने प्रतिवद्धता जनाएका छन् । भिडियोमा धेरै कोट्याएको (देहव्यापार) दृश्य आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य मात्र रहेको पनि उनले स्पष्ट पारेका छन् । उनी लेख्छन्, ‘प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफी मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ ।’