दुई व्यक्तिबीचमा भएको प्रेम, स्नेह, यौन सम्बन्ध जस्ता कुराहरु नितान्त निजि कुराहरु हुन् । ति निजि कुराहरु सार्वजनिक गर्ने अधिकार कसैलाई हुँदैन । जब सम्बन्धित व्यक्तिहरुले नै ति कुराहरु कारणवश सार्वजनिक गर्दछन्, ति कुराहरु समाजको बिषय बन्न पुग्छन् । चर्चित व्यक्तित्वहरुको सन्दर्भमा समाज पक्ष-विपक्षमा बाँडिन पुग्छ ।
हाल यत्रतत्र अभिनेता पल शाहको प्रसंग भेटिन्छन् । शाह माथी नाबालिग (बाल गायिका) बलात्कारको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ । १६ बर्षिया ति गायिकाले शाहले आफुलाई ललाईफकाई बिहेको प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा दोहोरो जाहेरी दिएकी छन् ।
जबरजस्ति करणी वा बलात्कार जस्तो गम्भीर बिषयमा रत्तिभर ख्याल नगरी सामाजिक सन्जालहरुमा ति नाबालिगको बिषयमा नकारात्मक टीप्पणी चलिरहेको छ । नाबालिगलाई दोषि वा चरित्रहिन देखाउन खोज्ने तर पल शाहको भने पुरुषार्थ देख्ने हाम्रो समाजको रोग नै यस प्रकारका यौनजन्य अपराधको मुख्य कारण हो ।
मैले यस बिषयलाई पल शाह र ति नाबालिग गायिका सम्बन्धित घटनालाई नेपाली समाजमा स्थापित सामाजिक अन्तरवस्तु मानेर केहि दृष्टान्त लेख्ने कोशिस गरेको छु ।
– समाजमा घटेका घटनाहरुमा आ-आफ्नो तर्क पक्ष वा विपक्षमा सभ्य तरिकाले मत राख्न पाईन्छ तर फ्यानहरुको आडमा यस्तो सम्वेदनशिल बिषयमा कानुनी फैसला अगावै एक पक्षिय रुपमा जिन्दावाद, मुर्दावाद, श्रद्दान्जलि जस्ता अवान्छनिय कुराहरु लेखेर कसैको भावना, चरित्र वा नैतिकतामाथी धावा बोल्ने काम कानुनत वर्जित र दन्डनिय छ । समाजमा रहेका यस्ता पात्रहरुका कारण सामाजिक न्याय स्थापित हुन सक्दैन ।
– यस बिषयमा जतिसुकै चर्चित भएपनि, जति धेरै प्रशंसकहरु भए पनि, उमेर तथा मानसिक अवस्थाका हिसाबले पल शाह जुन स्तरमा जिम्मेवार र सम्वेदनशिल हुनु पर्थ्यो उनीबाट त्यो भुमिका देखिएन । आरोप लागेर जाहेरी परिसकेपछि उनि पाँच दिनसम्म प्रहरीको फरार सुचीमा पर्नु नै उनको असम्वेदनशिलता हो । त्यस बीचमा आफ्ना प्रशंसकमाझ अन्योल पैदा भएको थियो भने प्रहरीले पनि उनिनिटक केहिलाई सोधपुछ गर्नुपरेको थियो । यसबाट उनि आँफैलाई घाटा भएको छ ।
– घटना पश्चात आएका अडियोहरु घटनालाई आफु अनुरुप मोड्ने तथा अतिरन्जित गर्ने हेतुले ल्याईएका तुछ्छ कुराहरु हुन् । प्रेम या समर्पणलाई आधार मान्ने हो भने पनि ति गायिका नै सहि देखिन्छिन् किनकि उनले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न चाहेको देखिन्छ । उनलाई अन्य युवकहरु सँग समेत नाम जोडेर सामाजिक सन्जाल मार्फत गलत देखाउने प्रयास भएको देखिन्छ तरपलको अरु केटिहरुसँग पनि अफेयर हुनुलाई भने अति सामान्य रुपमा तथा पुरुषार्थको रुपमा लिईएको छ । पलले ति गायिकाको मानसिक अवस्था नबुझी शारिरिक सम्बन्ध पश्चात पन्छाउन खोजेको देखिन्छ । तर, घटना पश्चात उनि कति बिछिप्त भएकि छन् भन्ने कुराको ख्याल गरेको गरेको पाईएन । यो दृष्टीकोण पनि अपराध सरह छ ।
– हाम्रो समाजमा यस्ता अपराध पश्चात (पुष्टि भए पनि या नभए पनि) पुरुष पात्र समाजमा सजिलै स्थापित हुन सकेका छन् तर महिलाको हकमा भने आरोप पुष्टि भए पनि नभए पनि समाजमा स्थापित हुने त परै जाओस टाउको उठाउन समेत पाएका छैनन् । समाजको यहि विकराल अवस्थाको कारण धेरै यौनहिंसाका घटनामाथी उजुरी नै पर्दैनन् । यसबाट अपराधिहरुको मनोवल झन् बढ्दै गएको पाईएको छ ।
– नेपालमा महिला मैत्रि कानुन भएतापनि विवाह ईतरका यौन सम्बन्ध पश्चात नेपाली समाजले पुरुष र महिलालाई हेर्ने नजर र दिने सामाजिक स्थानबीच कति गहिरो खाडल छ भन्ने कुरा यहि घटनाबाट प्रष्ट हुन्छ । यद्यपी कतिपय घटनामा महिला मैत्रि कानुनको आडमा महिलाबाट पुरुषहरु पिडित भएका घटनाहरु पनि छन् । तर, ति घटनाहरुलाई पनि सामान्य रुपमा लिनु पर्छ भन्ने मेरो आशय होइन ।
– ति गायिकाले (उमेरले परिपक्व नभए पनि) आफ्नो करियर दाउमा राखेर पद, प्रतिष्ठा, पैसा, अन्य लोभ लालच देखाएर गरिने महिला यौनहिंसा विरुद्द लड्ने जुन हिम्मत देखाएकी छन् यसबाट विद्यमान कानुनमा भएका कमजोरी हटाउन तथा समाजमा नारीको समान उपस्थिति स्थापित गर्न यो कदम कोशेढुंगा सावित हुनसक्छ ।
(यो लेख कसैको विचार वा भावनालाई ठेसपुर्याउने मेरो उदेश्यले लेखिएको किमार्थ होइन । यसलाई सामाजिक बिषयमा मेरो निजि धारणाको रुपमा बुझिदिनुहोला – लेखक)
- लेखक सापकोटा प्राध्यापक तथा गीतकार हुनुहुन्छ ।