चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको मंगलवार साँझ आर्ट अट्याकका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राति २ बजे घर फर्किँदा गाडीभित्र लामाको निधन भएको बताइएको छ । केही दिन अगाडि मात्र उनको घाँटीको शल्यक्रिया भएको थियो ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा हाल भक्तपुरस्थित कौशलटारमा बस्दै आएका थिए । उनले थुप्रै लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ नामक चलचित्रबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानी लगायतका चलचित्रमा अभिनय गरेका छन् । चरित्र अभिनयमा उनी सर्वाधिक व्यस्त कलाकारमा पर्थे ।
लामो समयदेखि लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान समेत गर्दै आएका उनी कशुल गायक पनि हुन् । उनले स्वर दिएको ‘कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानी’ लगायतका गीत चर्चित छन् ।