अन्तरजातीय प्रेम र चेलिबेटी बेचबिखनको कथामा निर्माण भएको ‘कहानी एकादेशको’ बोलको गीत सार्वजनिक भएको छ । भ्यालेनटाइन डेको अवसर पारेर सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा निशान भट्टराईको स्वर रहेको छ । गीतमा दीपक सापकोटा ‘भान्जा’ को शब्द तथा संगीत छ ।
दीपक आचार्य ‘काकु’ को निर्देशन रहेको गीतको भिडियोमा सागर लम्साल, सुप्रिया खनाल, दीपक आचार्य, सन्देश लामिछाने, भावना आचार्य, सालिकराम भण्डारी, अर्जुन तिमल्सिना र अयुब बाँस्तोलाको अभिनय रहेको छ । भिडियोको केन्द्रमा रहेका सागरले दमाईको भूमिकामा गरेको अभिनय जीवन्त लाग्छ ।
दीपक भान्जा र दीपक गुरागाइँले निर्माण गरेको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने चन्दन दत्तले सम्पादन गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा निर्देशक आचार्यले आफूहरुले निकै मिहिनेत गरेर गीत तयार गरेको बताए । गीतमा ६ लाख खर्च भएको पनि उनले जानकारी दिए ।
गीतको एक दृश्यमा सनाई फुक्ने क्रममा सागरको नाकबाट रगत बगेको छ । पात्रको गहिराइमा डुबेर अभिनय गर्ने क्रममा उनको नाकबाट वास्तवमै रगत बगेको थियो । त्यो क्षण सम्झँदै सागरले भनेका छन्, ‘सनाई फूकेको फूक्यै गरेपछि सास बाहिर जान पाएन । अनि, नाकबाट रगत बगेको थियो । तर, मलाई नाकबाट रगत आएको थाहै थिएन । पछि यो क्लिप भाइरल भएपछि धेरैले गालीसँगै स्याबासी दिनुभएको थियो ।’
उनले आफू कुनै पनि क्यारेक्टरमा डुब्दा सागर लम्साल भएर नडुब्ने बताउँछन् । उनी अगाडि भन्छन्, ‘कुनै पनि चरित्र निर्वाह गर्दा म आफू भएर डुब्दिनँ, त्यहाँ पात्र डुब्छ । त्यो पात्रले कसरी बाँचेको छ त्यसै अनुरुप मैले अभिनय गर्ने हो ।’ उनले सिरियलमा ‘बले’ को चरित्र निर्वाह गरिरहेको अवस्थामा आफूलाई गीतमा भएपनि फरक रुपमा प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
पहिलो पटक म्यूजिक भिडियोमा देखिएकी भावना आचार्य नकारात्मक भूमिकामा छिन् । टेलिसियिल ‘सक्कीगोनी’ मा ‘लुरी’ को चरित्र निर्वाह गरेपछि चर्चामा आएकी उनले कलाकार भएपछि जुनसुकै भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नकारात्मक भूमिकामा अभिनय गर्न आफूलाई आपत्ति नभएको बताइन् ।