बसन्तविरुद्ध कानुनी उपचारमा जाने तयारीमा महेश खड्का



गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बुले गाएको ‘नोगेन’ गीतको संगीतको अंश चलचित्र ‘शिलशिला’ मा समावेश ‘सागर सरी’ बाट चोरी भएको भन्दै संगीतकार बसन्त सापकोटाले आरोप लगाएपछि संगीतकार महेश खड्काले आफूले संगीत चोरेको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । बसन्त सापकोटाले चर्चामा आउनका लागेको आफूमाथि यो आरोप लगाएको उनको भनाई छ ।

शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भने, ‘संगीत भनेको महासागर हो र संगीतको ताल, सुर र रागभित्र रहेर संसारभरका संगीतकर्मीले संगीत सृजना गर्ने हुन् । संगीत सृजना गर्ने क्रममा एउटा दुईवटा सुर र ताल मिल्न सक्छ । तर, त्यसलाई चोरीको आरोप लगाएर कसैको मानहानी हुने काम गर्नु कत्तिको जायज हो ? कसैको पेवा होइन कड, सुर र ताल ।’

संगीतकार खड्काले बसन्त सापकोटालाई कानुनी उपचारमा गएर आफूलाई दोषी प्रमाणित गर्न चेतावनी दिएका छन् । उनी अगाडि भन्छन्, ‘यदी मैले उहाँको संगीत चोरेको हुँ भने यसका लागि कानुनी बाटो छ । मिडियामा गएर महेश खड्काले मेरो संगीत चोर्यो भन्दै हिँड्न पर्दैन । उहाँको मेरो सम्मान र मानमाथि आँच आउने किसिमले आरोप लगाउनुभएको छ । यो उहाँको कुन्ठित मनसाय हो ।’

आफूले संगीत चोरी गरेको भए राष्ट्रिय अदालतदेखि अन्तर्राष्ट्रिय अदालतसम्म जान बसन्तलाई आग्रह गर्दै महेशले आफू गलत भए कानुनी रुपमा दण्डित हुन तयार रहेको बताए । बसन्त सापकोटाले यो कुरा प्रमाणित गर्न नसके आफूले कानुनी उपचार खोज्ने महेशले चेतावनी दिएका छन् । आफ्नो चरित्र हत्या गर्ने काम भएकाले क्षतिपूर्तिका लागि कानुनी उपचारमा जाने विषयमा छलफल भइरहेको उनले बताए ।

संगीतकार खड्काले अरुका गीतहरु आफूले अपबाद मात्र सुन्ने गरेको पनि पत्रकार सम्मेलनमा बताए । उनी भन्छन्, ‘म अरुका गीतहरु सुन्दिनँ । अरुको गीत सुन्दा मेरो दिमागमा त्यही घुस्छ भन्ने डर लाग्छ । मलाई मेरै रंगमा गीत बनोस् भन्ने लाग्छ । तर, संगीत सृजना गर्ने क्रममा ताल, सुर, कड मिल्छ सक्छ । बसन्त सापकोटाका गीतमा पनि मेरा गीतका केही सुर र ताल मिलेका छन् । के अब म उहाँलाई चोरीको आरोप लगाउँदै हिडुँ ? उहाँले मेरो चरित्र हत्या गर्न मात्र चोरीको आरोप लगाउनु भएको हो ।’

संगीतकार बसन्त सापकोटाले ‘मेरो आशा बन्यौं नोगेन’ लाइनको संगीत ‘सागरसरी चोखो’ बाट झिकिएको आरोप लगाएका हुन् । बसन्तले यो गीतमा आफ्नो पनि नाम संगीतकारको रुपमा उल्लेख्य गर्नुपर्ने बताएका छन् । ‘नोगेन’ बोलको गीत यतिबेला चर्चाको शिखरमा छ । गीतको अडियो र भिडियोलाई लिएर दर्शकहरुले प्रशंसा गरेका छन् । तर, गीतको संगीत चोरी भएको आरोप लागेपछि सांगीतिक क्षेत्र तातिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu