काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) ले काठमाडौंमा आयोजित एक कार्यक्रमविच विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । विजेताहरुलाई नेपाल सरकारका उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ट्रफी र नगद पुरस्कार प्रदान गरेका हुन् ।
काठमाडैंस्थित राष्ट्रिय सभा गृह र पर्यटन बोर्डमा पाँच दिनसम्म ३१ देशका ६० चलचित्रहरू प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ । नेपाल, भारत, बङ्गलादेश, चीन, श्रीलङ्का, जापान, फ्रान्स, जर्मनी, इटलीलगायत देशका चलचित्र महोत्सवमा देखाइएका थिए । महोत्सवमा डेढ दर्जन चित्रकारका कलाकृतिको प्रदर्शनी तथा कार्यशाला संचालन गरिएको थियो ।
सोमबार सम्पन्न भएको समापन समारोहमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पुरस्कृतलाई पुरस्कार प्रदान गरेका थिए भने चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष केपी पाठकले नगद पुरस्कार प्रदान गरेका थिए । उपप्रधान एवं रक्षामन्त्री पोखरेलले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यत गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सवले नेपालको चलचित्रलाई विश्वव्यापी बजारमा पुर्याउन सघाउनेछ ।’ कार्यक्रममा बोल्दै नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान) का अध्यक्ष केपी पाठकले स्वदेशमा आयोजना हुने चलचित्र महोत्सवको कदर गर्न आग्रह गरे र यस्ता महोत्सवहरुमा उत्साहजनक सहभागिताको लागि अनुरोध गरे ।
चलचित्र महोत्सवको अवसर पारेर नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ प्रदर्शनी तथा कार्यशाला संचालन गरिएको थियो ।

दोस्रो नीफका अवसरमा गौतम बुद्ध अवार्डअन्तर्गत सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रतर्फ ‘ए ल्यान्ड इम्याजिन्ड ‘ (सिंगापुर) ले एक हजार डलरसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो । माउण्ड एभरेष्ट अवार्डअन्तर्गत सर्वोत्कृष्ट अन्तराष्ट्रिय लघु चलचित्रतर्फ ‘मीन आलाप’ (भारत-बंगलादेश) बाट सेन्जुटी टुसीले पाँच सय डलरसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो भने विशेष जुरी अवार्ड ‘कमला रकेट’ (बंगलादेश) बाट नूर इमरान मिठुले जित्न सफल भयो ।
नेपाली प्रतिस्पर्धाअन्तर्गतका राष्ट्रिय चलचित्रमध्ये ‘डाइङ क्यान्डल’ लाई पचास हजार रुपैंयासहित सर्वोत्कृष्ट चलचित्र पुरस्कार र नेपाली सर्ट वृत्तचित्र फिल्ममध्ये ‘सुपरमंक’ लार्इ पच्चीस हजार नगदसहित सर्वोत्कृष्ट लघु चलचित्र पुरस्कार प्रदान गरिएको थियो । ‘सुपरमंक’ का निर्देशक स्यनांग ग्याल्मो तामाङले पुरस्कार राशी, ट्रफी र प्रमाण पत्र थापे भने सर्वोत्कृष्ट सम्पादकको पुरस्कार यसै चलचित्रबाट लव प्याकुरेलले प्राप्त गरे । यसैगरी, सर्वोत्कृष्ट निर्देशक पुरस्कार ‘डाइङ क्यान्डल’ बाट नरेश कुमार केसी, सर्वोत्कृष्ट लघु फिल्म निर्देशक पुरस्कार ‘आमा’ बाट परिच्छेद सेन, सर्वोत्कृष्ट पटकथा पुरस्कार ‘पञ्चायत’ बाट शिभम् अधिकारी, सर्वोत्कृष्ट छायाँकार पुरस्कार ‘डाइङ क्यान्डल’ बाट रविन आचार्यले प्राप्त गरेका छन् ।
कार्यक्रमका निर्णायक समितिमा नेपालका अग्रज चलचित्रकर्मी नीर शाहको नेतृत्वमा भारतका चलचित्रविद् प्रेमेन्द्र मजुमदार, चीनको बेजिङ चलचित्र एकेडेमीका प्रोफेसर ल्याङ स्याओ र क्यान्स चलचित्र फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच, नेपाली जनजाति तथा भाषाभाषी चलचित्रमा ख्याति पाएका वरिष्ठ चलचित्रकर्मी नविन सुब्बा रहेका थिए ।
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) प्रत्येक बर्ष नेपाल चलचित्र एण्ड कल्चरल एकेडेमी (एनआईएफएफ) ले आयोजना गर्ने गर्दछ ।