नेपालमा लामो समयपछि हरर जनरामा चलचित्र ‘कठपुतली’ निर्माण भएको छ । पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको बुधवार ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरले दर्शकमा ठूलो आश जगाएको छ । ट्रेलरमा समावेश दृश्य, सिनेम्याट्रोग्राफी, साउन्ड इफेक्ट र कलाकारहरुको अभिनयले चलचित्र बलियो बनेको हुनसक्ने दर्शकको विश्वास छ ।
यूट्युब रिलिजको दुई दिनमा ८२ हजारभन्दा बढी भ्यूज मिलेको ट्रेलरलाई सकारात्मक प्रतिक्रियाको आइरो नै लागेको छ । ट्रेलरको कमेन्ट बक्समा कुङकुङ राईले आफू चलचित्र हेर्न निकै उत्साहित रहेको बताउँदै लेखेका छन्, ‘यो नेपालको उत्कृष्ट हरर चलचित्रमध्ये एक हुनेछ । अर्को विशेषता यो हो कि यसले कुनै एक राजाको शासनकालमा दरबारभित्र भएका घटनाहरू देखाउँछ, जुन वास्तविक हो ।’
त्यस्तै, पल्लवी गुरुङले नेपालमा यति स्तरीय हरर चलचित्र बन्नु खुसीको कुरा रहेको उल्लेख गरेकी छन् । अर्का यूट्युब प्रयोगकर्ता सन्दीप घिमिरेले राम्रो कन्टेन्टमा चलचित्र बनेको र टिमको मिहिनेत पनि देखिएको बताएका छन् । उनले कमेन्टमा राम्रो शब्द लेखेर मात्र नहुने भन्दै हलमा गएर चलचित्र हेर्न पनि सबैलाई आग्रह गरेका छन् । यी त प्रतिनिधि प्रतिक्रिया मात्र हुन्, ट्रेलरलाई अधिकांश उत्साहजनक प्रतिक्रिया मिलेको छ ।
अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेको चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर निर्माता रहेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालाको अभिनय छ । चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् । ‘कठपुतली’ को सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।