नेपाली चलचित्रमा आफूलाई कुशल द्वन्द्व निर्देशकको रुपमा स्थापित गरेका चन्द्र पन्त पछिल्लो समय भोजपुरी चलचित्र निर्देशनमा व्यस्त छन् । दिनेशलाल यादव ‘निरहुवा’ लाई लिएर चलचित्र ‘निरहुवा चलल लण्डन’ बाट निर्देशकको रुपमा डेब्यू गरेका उनले गत महिना चलचित्र ‘माही’ को छायांकन पूरा गरेका थिए । उनले भोजपुरी चलचित्रमा नेपाली कलाकारहरुलाई पनि अवसर दिँदै आएका छन् ।
अब उनी बलिउड चलचित्र निर्माण गर्ने तयारीमा छन् । त्यो पनि भारतको नामी ब्यानर ‘प्रकाश झा प्रोडक्सन’ सँग मिलेर । यो ब्यानर ‘गंगाजल, सत्याग्रह, जय गंगाजल, आश्रम सिरिज’ का निर्देशक प्रकाश झाको हो । उनकी छोरी दिशा झाले निर्माण गर्न लागेको चलचित्र ‘कोनम्यान’ मा चन्द्र पन्त कार्यकारी निर्माताको रुपमा रहेका छन् । गत हप्ता चलचित्रको कानपूरमा घोषणा गरिएको थियो ।
साइबर क्राइमको कथामा आधारित भएर निर्माण हुन लागेको उक्त चलचित्रको ७ अक्टोबरबाट कानपूरमा छायांकन सुरु हुनेछ । प्रिन्स धीमनले निर्देशन गर्ने चलचित्रमा भारतीय अभिनेता शेखर सुमनका छोरा अध्ययन सुमनको मुख्य भूमिका रहनेछ । प्रकाश झा प्रोडक्सन र एविसी ग्यालेक्सीको ब्यानरमा बन्ने यस चलचित्रमा अरुण कुमार मिश्र सह-निर्माता र मनोज जैसवाल निर्मातामा छन् ।
चन्द्र पन्तले चलचित्रमा नेपाली कलाकारलाई पनि अवसर दिइने बताए । उनले भने, ‘मैले भोजपुरी चलचित्रमा नेपाली कलाकारलाई आजसम्म छुटाएको छैन । अब बन्ने दुईटा भोजपुरी चलचित्रमा पनि नेपाली कलाकारलाई लिने योजनामा छु । मैले बनाउने बलिउड चलचित्रमा पनि नेपाली कलाकारलाई राख्न छलफल भइरहेको छ । केही दिनमै नेपालबाट अभिनय गर्ने कलाकारको टुंगो लाग्नेछ ।’
उनी भोजपुरी चलचित्र निर्देशनबाट चाँडै विदा लिने सोचमा छन् । अब अन्तिम दुईवटा मात्र भोजपुरी चलचित्र निर्देशन गरेर बलिउड चलचित्रमा पाइला टेक्ने उनको तयारी छ । उनी आउँदो वर्षभित्र नेपाली चलचित्र निर्देशनमा पनि डेब्यू गर्ने योजनामा छन् । ‘कोनम्यान’ पछि ‘प्रकाश झा प्रोडक्सन’ को ब्यानरमा निर्माण हुने नयाँ चलचित्रको आफूले निर्देशन गर्ने सम्भावना रहेको उनले बताए ।