शुक्रबारदेखि काठमाडौंको जमलस्थित संस्कृतिक संस्थानमा जारी नवौं नेपाल अफ्रिका फिल्म फेस्टिवल (नाफ) मा उत्कृष्ट चलचित्र लाई पुरस्कृत गर्दै आइतबारबाट सकिएको छ । महोत्सवमा यो वर्ष बृत्तचित्र तर्फ गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित बृत्तचित्र ‘सहायक श्रीमान’ (को हजबेन्ड) उत्कृष्ट भएको छ । यो बृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथामा केन्द्रित थियो ।

यस्तै, महोत्सवमा कथानक चलचित्रतर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । आमा बृद्धा आमा बुबालाई बृद्धाश्रममा राख्नेहरुको कथामा यो चलचित्र आधारित थियो । यो वर्ष डक्युड्रामा तर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित बृत्तचलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो बृत्त चलचित्रमा सुदुरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्यामा आधारित थियो ।
यी तीनवटै उत्कृष्ट चलचित्रलाई जनही ५ हजार रुपैयाँसहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्धारा आयोजित नवौं संस्करणको महोत्सव समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए ।
यो महोत्सवले नेपालमा अफ्रिकालाई चलचित्रबाट चिनाउन ठुलो सहयोग पु¥याएको गिरीले बताए । चलचित्र निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले समापन समारोहमा पुरस्कार प्रदान गर्दै नेपाली भन्दा अफ्रिकन चलचित्रहरु धेरैमाथि भएकाले नेपाली मेकरले उनीहरुबाट सिक्ने अबसर पाएको बताए । आइतबार नै महोत्सवमा नेपाली र अफ्रिकन चलचित्रका चुनौतीबारे बहस भएको थियो ।

सो बहसमा राजेश थापाले नेपाली चलचित्रको बिगत देखि अहिलेसम्मको अवस्था चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । महोत्सवबाट आफुहरुले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी अध्यक्ष डा. मञ्जु मिश्रले समापन समारोहमा बताईन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार उद्घाटन गरेको यो महोत्सवमा नेपालमा ७ वटा र अफ्रिकामा ८ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।