जिवन पराजुली। बजारमा अत्याधिक चर्चाका बीच यो साता ‘झोले’ आएको छ। समय-सन्दर्भ मिलाएर बन्ने गरेका हरेक प्रकारका चलचित्रले अपेक्षित व्यापार नगरिरहेको अवस्थामा रिलिजको पहिलो दिन मल्टिप्लेक्सका महंगा टिकट सहित सिंगल स्क्रिन र उपत्यका बाहिरका प्रायः हल भरिभराउ भए।
व्यापक प्रचार-प्रसारमा जुटेको ‘झोले’ले पहिलो दिन शुक्रवार हराएको झोला भेट्टाउने संकेत दिन सफल भयो। विदेश जान शहर पसेको बेरोजगार युवाको सबै कागजात भएको झोला हराएपछि सुरु भएको दुखान्त क्षणलाई मनोरञ्जनात्मक कलाबाट हाँसोको खुराक बनाउँदै दर्शकलाई पेट मिचाउन सफल निर्देशक दिपेन्द्र के. खनालले सायद सोचेका थिएनन् की यति राम्रो चलचित्र बन्न पुग्छ। आफ्नो चलचित्रबारे अनावश्यक प्रचार भन्दा पनि ‘यथार्थवादी प्रचारक’ खनालले आफ्नो कला देखाउन सफल देखिन्छन्। यो मेरो व्यक्तिगत विचार हो, सञ्चारकर्मीको नाताले आफुलाई लागेको मात्र भन्दा पनि हल भित्रका सर्वसाधारणका अनुहार पढेर टिप्पणी लेख्ने हिम्मत गरेको हुँ।
राजधानीदेखी टाढाको दुरीमा रहेको विटक गाउँको अनगिन्ती सपना साँचेको एक युवा, शहरमा झ्याप्ले कपाल पालेर आफुलाई डन सोच्ने अर्को युवा र आखिर काम नै गर्नु छ भने छिटो पैसा कमाउने काममा ‘सेक्स वर्कर’ बनेकी अर्की युवती ‘झोले’का झोलेहरु हुन्। दयाहाङ्को ‘फेस एक्प्रेसन्’, संवाद तथा ‘मोनोलग’ले चलचित्रको सुरुदेखी अन्त्यसम्म हाँसोले गुञ्जाएमान हल बनाउन सफल छ। ए. गुरुङ्को स्टाइल तथा प्रियंका कार्कीको ग्ल्यामरस पनि ‘झोले’लाई झोला भराउने महत्वपूर्ण पाटो बनेका छन्।
दयाहाङ्को एउटा प्रायः प्रयोग भएको संवाद सम्झन मन लाग्यो। पुरै गाउँले परिवेशमा रहेका राईले बेला-बेला अप्ठेरो अवस्थामा उच्चारण गर्ने ‘क्यारुम तनि मैले …’ वाक्यांशमा कुनै झर्कोपना छैन बरु सो संवाद आउँदा हाँसो थाम्न नसकेर सिटमै उफ्रने दर्शकको दृश्य झन गतिलो बनेको थियो। यसअघि ‘सेक्स साइकोलोजी’मा ‘चपली हाइट’ बनाएर मनग्गे पैसा निर्माताको झोलामा हालिदिएका निर्देशक खनालले ‘झोले’मा पनि सेक्स भित्र्याएका छन् तर भल्गर लाग्दैन बरु सो कुरा हाँसोको खुराक बनिदिएको छ। बाध्यताले जवानी बेचेकी युवतीले चलचित्रको अन्त्यमा अझ गम्भिर सोच पैदा गरिदिएकी छिन्।
दयाहाङ्ले यसअघि कुनै चलचित्रको गीतमा देखिएका थिएनन्। ‘झोले’मा उनि संगीतमा डुबेका छन्। पहिलोपटक कोरियोग्राफरको आदेश मानेका राईले संगीतलाई न्याय दिएका छन्। रेनेशा राईको कोरियोग्राफीले चलचित्रलाई सुन्दर बनाएको छ।
‘डार्क कमेडी’ बताईएको सो चलचित्र साँच्चिकै ‘डार्क’ छ तर यसले दर्शकको अनुहारमा ‘लाईटनेस्’ झल्काएको छ। कमेडी चलचित्र ‘छ एकान छ’ चलेपछि यस्तो चलचित्र चल्दो रहेछ भन्ने कुरा पुष्टि भएको तर्क गर्नेको मुखमा ‘प्रड्युसर’ फ्ल्प गएपछि बुझो लागेको थियो। वास्तवमा लहै-लहैमा भन्दा पनि चलचित्र राम्रो हुँदा पक्कै चल्छ।
मानिसले बनाउने हो चलचित्रलाई। कमिकमजोरी हुनु स्वभाविक छ तर त्यस्ता गल्ति आँफै ढाकछोप हुने ‘सब्जेक्ट’, ‘मेकिङ्’ तथा ‘अण्डरस्टाण्डिङ्’ हुँदा गल्ति हराएर जान्छन्। ‘झोले’मा पनि केहि गल्ति कमजोरी अवश्य छन् जुन कुरा चलचित्र समिक्षामा आइनै हाल्नेछन्।
म त भन्छु ‘झोले’ हेर्नुस्, हँसाएरै मार्छ।