‘रहर छ सँगै, तिम्रो आँखामा, म यस्तो गीत गाउँछु, भुन भुन भमरा, मैले यो जानी सकेँ नी, माया गर मायालुले’ लगायतका हजारौं नेपाली चलचित्रका गीतमा आवाज भरिसकेकी गायिका अञ्जु पन्तका प्रायः गीत दर्शकको जिब्रोमा झुण्डिएका छन् । उनको स्वरबद्ध एकाध गीत मात्र औसत चलेका छन् । उनको गायन कलाको जति प्रशंसा हुन्छ, सुन्दरताको पनि उतिक्कै चर्चा हुने गरेको छ ।
उनलाई नेपाली चलचित्रबाट अभिनेत्रीको प्रस्ताव समेत आउने गरेका छन् । ‘सिन्दूर, स्काउट, परदेशी’ लगायतका चलचित्रबाट आफूलाई प्रस्ताव आएपनि व्यस्तताका कारण काम गर्न नसकेको उनको भनाई छ । आफूले गाएका गीतको भिडियोबाट पनि मोडलिङको प्रस्ताव आउने गरेको उनी बताउँछिन् । तर, उनले आफू नभइ छोरी परितोषिकालाई अभिनयमा ल्याएकी छन् ।
आफ्नो स्वर र संगीतमा रहेको ‘धेरै माया’ बोलको गीतको भिडियोमा उनले आफ्नी १९ वर्षिय छोरी परितोषिकालाई मोडलिङमा डेब्यू गराएकी छन् । गीतको भिडियोमा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको छ । छोरीको अभिनयप्रति रुची भएका कारण आफ्नै गीतबाट डेब्यू गराएको अञ्जु बताउँछिन् । छोरीलाई चलचित्रबाट समेत प्रस्ताव आउने गरेको उनले बताइन् ।
‘पहिला धेरै चलचित्र तथा एल्बमबाट प्रस्ताव आएको थियो । धेरै निर्माता/निर्देशकले अभिनयको कोर्ष सिकाउँछौं समेत भन्नुभएको थियो । चलचित्रको स्क्रिप्ट पनि सुनाउनुभयो । चलचित्र र म्यूजिक भिडियोबाट धेरैले माग्न थालेपछि मैले छोरीको इच्छा बुझेँ । उनको अभिनयप्रति इच्छा रहेछ । त्यसपछि आफ्नैबाट काम अगाडि बढाउन त भन्ने हेतुले मोडलिङमा डेब्यू गराएँ,’ अञ्जुले भनिन् ।
परितोषिकालाई अभिनयसँगै गायनप्रति पनि केही हदसम्म रुची रहेछ । तर, व्यवसायिक रुपमा गायनमा अगाडि बढ्ने सोचमा भने उनी छैनन् । उनी भन्छिन्, ‘अभिनयप्रति मलाई एकदमै रुची छ । भोलीका दिनमा यसैलाई निरन्तरता दिन्छु । अध्ययनलाई पनि साथमा लैजानेछु ।’ भोलीका दिनमा राम्रो स्क्रिप्टबाट प्रस्ताव आएको खण्डमा चलचित्रमा काम गर्ने सोचमा रहेको उनले बताइन् ।
छोरीको अभिनयप्रति रुची र क्षमता भएकै कारण मोडलिङमा डेब्यू गराएको गायिका पन्तको भनाई छ । उनले भनिन्, ‘मेरो छोरी भएकै कारण जबरजस्ती गीतको भिडियोमा मोडलिङ गराएको होइन । पहिलो त उनको अभिनयप्रति रुची छ । दोस्रो भनेको उनमा अभिनय गर्ने क्षमता देखेरै डेब्यू गराएको हुँ ।’ अहिले परितोषिकाले अभिनयको कोर्ष गरिरहेकी अञ्जुले बताएकी छन् ।
भिडियो :-