अहिलेका व्यस्त म्यूजिक भिडियो निर्देशक हुन्, विधान कार्की । लकडाउनभन्दा अगाडि उनी निर्देशित भिडियो खासै चलेका थिएनन् । तर, लकडाउनमा उनले जति पनि भिडियोको निर्देशन गरे, सबैलाई दर्शकले रुचाएका छन् । लकडाउनको समयमा उनले एक दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरेका छन्, जसमध्ये आठवटा भिडियो अहिले चर्चाको शिखरमा छन् ।
‘नबोली नबोली’ गीतमा आफ्नो निर्देशकिय क्षमताको प्रशंसा भएपछि हौसिएका विधान निर्देशित ‘काले केटा २’ गीतको भिडियो आइतवार सार्वजनिक भएको छ । चलचित्रको शैलीमा निर्माण गरिएको यो गीतको भिडियोमा पनि उनको निर्देशकिय क्षमताको प्रशंसा भएको छ । एकपछि अर्को गीतले पाएको सफलताले आफूलाई जिम्मेवारी थपिएको महशुस भएको उनी बताउँछन् ।
‘मैले झण्डै दश वर्ष यो क्षेत्रमा संघर्ष गरेँ । त्यो बेला काम पाउन नै गाह्रो हुन्थ्यो । काम गर्दै गएपछि कसरी राम्रो काम गर्ने भन्ने हुँदो रहेछ । जब दर्शकहरुले कामको प्रशंसा गर्न थाल्नुहुन्छ तब यात्रा थप चुनौतीपूर्ण महशुस हुँदो रहेछ । अब कस्ता खालका काम गर्ने र कसरी आफ्नो कामलाई निखार्ने भन्ने चुनौती अहिले महशुस गरिरहेको छु,’ विधानले ठूलो पर्दासँगको कुराकानीमा भने ।
अहिले आफ्नो गोल्डेन टाइम चलिरहेको उनी बताउँछन् । आफ्नो दश वर्षको अनुभवले गीतको भिडियो निर्माण गर्न चाहने निर्मातालाई राम्रो सुझाव दिन सक्ने भएको उनको भनाई छ । बजारले मागेको गीत कस्तो हो, कस्ता कलाकार राख्दा त्यसको प्रभाव के पर्छ, कसरी गीतको मार्केटिङ गर्ने, कस्ता गीत चल्छ /चल्दैन भन्ने आँकलन केही हदसम्म गर्न सक्ने भएको उनको अनुभव छ ।
एउटा निर्देशकले भिडियोका लागि चलेको कलाकार खोज्छ वा गीतको अडियो ? भन्ने प्रश्नमा उनले भने- ‘दुईवटै कुराको सन्तुलन हुनुपर्छ । तर, म्यूजिक भिडियोको सवालमा ८० प्रतिशत अंश म अडियोलाई दिन्छु । अडियो राम्रो छ भने दर्शकले वर्षौसम्म गीत सम्झन्छन् । अडियो राम्रो छैन भने भिडियो राम्रो बनेर पनि केही हुँदैन । त्यसैले राम्रो अडियोको गीतको भिडियोमा चिनिएका कलाकार भए सुनमा सुगन्ध हुन्छ ।
उनी यूट्युब भ्यूजका लागि पनि चलेका कलाकार छान्ने गरेको कुरा नकार्न सक्दैनन् । उनी भन्छन्, ‘कहिँ न कहिँ यूट्युब भ्यूजका लागि चलेका कलाकार छान्ने गरिन्छ । किनकि, यूट्युबमा इनिसियल जुन रिजल्ट आउँछ, त्यसका लागि चलेका कलाकार र यूट्युबमा सबैभन्दा बढी खोजिएका अनुहारलाई हामी लिन खोज्छौं ।’ म्यूजिक भिडियोका लागि कलाकार छनौट गायक/गायिका र निर्देशकबीचको सहमति अनुसार हुने उनी बताउँछन् ।
निर्देशक कार्कीले संगीतकार अर्जुन पोखरेलसँग मिलेर ग्रुपिज्म गरिरहेको आरोप पनि उनीमाथि छ । संगीतकार पोखरेलले संगीत भरेका एकपछि अर्को गीतको भिडियोको निर्देशन विधानले गर्नुले यस प्रकारको चर्चा चलेको हो । तर, उनी यो कुरा ठाडै नकार्छन् । ‘अर्जुनजी राम्रो संगीत भर्नुहुन्छ भन्नेमा कुनै शंका छैन । मैले छान्ने तीन संगीतकारभित्र उहाँ पनि पर्नुहुन्छ । उहाँ र म व्यक्तिगत रुपमा पनि नजिक छौं । त्यसैले ग्रुपिज्म चाहिँ होइन, टिमवर्क चाहिँ हो,’ उनले भने ।
दर्जनौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका विधान कार्की अब चलचित्र निर्देशनमा समेत होमिँदैछन् । उनी आउँदो वर्षको बैशाखमा चलचित्र निर्माण गर्ने तयारीमा छन् । अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको उनले बताए । सामाजिक विषयवस्तुमा बन्ने चलचित्रका लागि कलाकार छनौट भने भएका छैनन् । विधानका अनुसार, चलचित्रले बाबु र छोराको भावनात्मक सम्बन्धको कथा भन्नेछ ।
चलचित्रको स्क्रिप्ट लक भइसकेको उनले बताए । म्यूजिक भिडियोबाट दर्शकको आफूप्रति अपेक्षा बढेका कारण चलचित्रलाई पनि उत्कृष्ट बनाउन मेहनत गर्ने उनी बताउँछन् । दश वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा आबद्ध भएका कारण त्यो अनुभवलाई समेटेर चलचित्र निर्देशन गर्न लागेको उनको भनाई छ । उनले म्यूजिक भिडियोमा झैँ चलचित्र निर्देशनमा पनि सफलता पाउलान् त ? त्यो भने हेर्न बाँकी छ ।