चर्चित गायक प्रमोद खरेलविरुद्ध विन्धवासिनी म्यूजिकका सञ्चालक सुवास रेग्मीले कालिकास्थानस्थित नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा मुद्धा दायर गरेका छन् । देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा आफूले सिर्जना गरेका गीत-संगीतका ट्रयाक अनुमति विना प्रस्तुत गर्दै हिँडेकोप्रति आपत्ति जनाउँदै उनले गायक खरेलविरुद्ध मुद्धा हालेका हुन् ।
सुवास रेग्मीले रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको मुद्धामा भनिएको छ, ‘गीतकार, प्रोड्युसर, लगानीकर्ताको लाखौं लगानीमा भएको म्यूजिक ट्रयाककहरु उनीहरुको अनुमति विना प्रयोग गरी लगानीकर्ताको मौलिक हक, श्रष्टाको प्रतिलिपि अधिकार समेत दुरुपयोग गरी आफू खुसी गीत गाउँदै हिँडेका निज गायकलाई प्रतिलिपि अधिकार ऐन बमोजिम कडा कारबाही गरी पाउँ ।’
गीतकार रेग्मीले वर्षौदेखि गायक प्रमोद खरेलले आफ्नो आर्थिक अधिकारभित्र रहेका म्यूजिक ट्रयाकहरु देश तथा विदेशका कार्यक्रममा प्रयोग गर्दै आएको भन्दै एक करोडको क्षतिपूर्ति समेत माग गरेका छन् । विन्धवासिनीका ट्रयाकहरु प्रयोग गरेर गीत गाउँदै आएको भन्दै शुक्रबार गीतकार रेग्मीले रजिस्ट्रारको कार्यालयमा मुद्दा दायर गरेका हुन् ।
गायक प्रमोद खरेलले भने आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको बताएका छन् । उनले ठूलो पर्दासँगको कुराकानीमा भने, ‘२०६६ सालमा आएको ‘मेरो दिल छ पोखरा’ बोलको गीत समावेश ‘प्रणय’ एल्बम विन्धवासिनी म्यूजिकबाट निस्किएको थियो । यसको सम्झौता पाँच वर्षको थियो, जुन २०७१ सालमा सकिएको छ । सम्झौता सकिएपछि मैले एल्बम माग्दा उहाँ (सुवास रेग्मी) ले एल्बम नदिनका लागि यस प्रकारका आरोप लगाउनुभएको हो ।’
विन्धवासिनी म्यूजिक र आफूबीच भएको सम्झौतामा पाँच वर्षपछि ‘प्रणय’ एल्बम आफूलाई फिर्ता हुने स्पष्ट लेखिएको तर अहिलेसम्म प्राप्त नभएको गायक खरेलको भनाई छ । ‘प्रणय’ एल्बम निकाल्न र ‘मेरो दिल छ पोखरा’ गीतको भिडियो निर्माणका लागि आफूले विन्धवासिनी म्यूजिकबाट केही रकम बुझेको बताउँदै उनले सम्झौता सकिएका कारण एल्बम फिर्ता नगर्नका लागि आफूमाथि झुटा आरोप लगाइएको बताए ।