‘कबीर सिंह’ भन्दा अगाडि अभिनेता शाहिद कपूरका लगातार चलचित्र असफल भइरहेका थिए । उनीमाथि ठूलो ब्यानर लगानी गर्न समेत तयार थिएनन् । तर, ‘कबीर सिंह’ ब्लकबस्टर भएपछि उनको करिअरले गति लिएको छ । अहिले हरेक ठूला निर्देशकले उनलाई आफ्नो चलचित्रमा लिन चाहेका छन् । ‘कबीर सिंह’ को सफलतापछि उनले आफ्नो पारिश्रमिक पनि दोब्बर बढाएका छन् ।
अब शाहिदले ओटीटीमा डेब्यू गर्ने भएका छन् । उनले नेटफ्लिक्ससँग एक महत्त्वपूर्ण सम्झौता गरेका छन् । नेटफ्लिक्ससँग चलचित्र र सिरिजका लागि उनको टाइअप भएको छ । यद्यपि, यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन । लामो समयदेखि एक हिट चलचित्र र सिरिजको प्रतिक्षामा रहेको नेटफ्लिक्स शाहिदसँगको सहकार्यले सुखद परिणाम दिनेमा विश्वस्त छ ।
नेटफ्लिक्सले शाहिदसँग सय करोडमा चलचित्र र सिरिजका लागि सम्झौता गरेको भारतीय मिडियाले बताएका छन् । कोरोनाको समयमा बलिउड सेलिब्रेटीहरु ओटीटीतर्फ आकर्षित भएका छन् । अमिताभ बच्चनदेखि विद्या वालनसम्मका चलचित्र ओटीटीमा रिलिज भएका छन् । अब यो बाटोमा शाहिद देखिएका छन् । उनको ओटीटीमा अहिलेसम्म कुनै चलचित्र रिलिज भएका छैनन् ।