जन्मदिनमा ‘काकु’ भन्छन्, ‘हाँस्य सिरियललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान चाहन्छु’



चर्चित हाँस्य सिरियल ‘भद्रगोल’ मा काकुको भूमिका निर्वाह गरेपछि चर्चामा आएका दीपक प्रसाद आचार्य शनिवार आफ्नो जन्मदिन मनाउँदैछन् । अघिल्ला वर्षहरुमा जन्मदिनको दिन सिरियल वा म्यूजिक भिडियोको छायांकनमा व्यस्त हुने उनी यसपटक भने कोरोनाका कारण परिवारसँग बसेर जन्मदिन मनाउँदैछन् । उनले आफ्नो उमेर भने दर्शकलाई अनुमान गर्न आग्रह गरेका छन् ।

आफ्नै निर्देशनमा तयार भएको एक म्यूजिक भिडियोको सम्पादनमा व्यस्त रहेका उनले ठूलोपर्दासँग कुराकानी गर्दै आफूले जिन्दगी बुझ्ने कोशिश गरिरहेको बताएका छन् । उनले भने- ‘हरेक क्षण, हरेक पल नयाँ कुरा सिकिरहेको हुन्छु । कोही पनि मानिस निपूर्ण हुँदैन । मानिसमा धेरै भ्रम हुन्छ । त्यो कुरालाई बुझिरहेको छु । सबैभन्दा ठूलो कुरा असल काम गरेर प्रशंसक कमाउनु हो । त्यसैका लागि मिहेनत गरिरहेको छु ।’

कलाकारिताबाट कमाएको नामबाट आफू खुसी रहेको उनको भनाई छ । अहिले ‘भद्रगोल’ टिमले नयाँ हाँस्य सिरियल ‘सक्किगोनी’ निर्माण गरिरहेको छ । दीपक, यसका श्रृंखला निर्देशक हुन् भने काकुको भूमिकामा पनि निर्वाह गर्दै आएका छन् । आफ्नो जन्मदिनमा उनले ‘सक्किगोनी’ लाई युवापुस्ता र बौद्धिक वर्गमाझ पुर्‍याउने प्रण गरेका छन् । हाँस्य सिरियलले यी दुई वर्गलाई आकर्षित गर्न चुकेको उनको बुझाई छ ।

उनी भन्छन्, ‘हिजो आजका कुरादेखि सक्किगोनि’ सम्म आइपुग्दा सबै हाँस्य सिरियल एउटै प्याटनमा बगेका छन् । एउटा यथार्थ के हो भने हामीले सबै दर्शकलाई समेट्न सकेका छैनौं । एउटा, युवापुस्तालाई समेट्न सकेका छैनौं । अर्को, बौद्धिक वर्गसम्म हामी पुग्न सकेका छैनौं । तराई र हिमालका कतिपय क्षेत्रमा पनि हामी पुग्न सकेका छैनन् ।’ यसको कारण उनी हाँस्य सिरियललाई परिमार्जित गर्न नसक्नुलाई मान्छन् ।

हाँस्य सिरियलले हिमाली र तराई क्षेत्रका कथा भन्न नसकेको उनको बुझाई छ । युवापुस्तामाझ पुग्न नसक्नु चाहिँ आफूहरु अपडेटेड नहुनुलाई मान्छन्, उनी । कलाकार आचार्य भन्छन्, ‘अहिले युवापुस्ताले विभिन्न अनलाइन प्लेटफर्ममा अन्तर्राष्ट्रिय सिरिजहरु हेर्ने गरेका छन् । त्यो प्याटनमा हामीले काम गर्न सकेका छैनौं । यसकारण पनि नेपाली हाँस्य सिरियलले युवा वर्गलाई आकर्षित गर्न सकेको छैन ।’

कलाकार तथा निर्देशक आचार्य अब हाँस्य सिरियलमा कथा परिवर्तन गर्नुपर्ने समय आएको बताउँछन् । ‘मैले आफ्नो जन्मदिनमा आफैंसँग के प्रण गरेको छु भने आउँदा दिनमा हामीले समेट्न नसकेका क्षेत्र र समेट्न नसकेका वर्गलाई लक्षित गरेर कमेडी प्याटन परिवर्तन गर्नेछु । अब हामी समय अनुसार चल्नुपर्छ । र, ओटीटी प्लेटफर्ममा सिरिज हेर्ने जुन जमात छ, अबको केही वर्षमा हामी पनि त्यसमा पुग्नुपर्छ,’ उनले भने ।

नेपाली हाँस्य सिरियललाई यूट्युबसँगै अन्य प्लेटफर्मसम्म पुर्‍याउनका लागि काम गर्नुपर्ने उनको धारणा छ । अहिले यसका लागि आफूले अनुसन्धान गरिरहेको उनले बताए । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘सन्टी भाइरस’ को कथा समेत लेखेका उनी आफ्नो कामबाट २५ प्रतिशत पनि सन्तुष्ट नभएको बताउँछन् । यसबाट आफूले धेरै सिकेको र भोलीका दिनमा स्क्रिप्टमा थप मिहेनत गर्ने उनको प्रण छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu