अभिनेत्री तथा रंगकर्मी उषा रजक सवारी दुर्घटनामा परी घाइते भएकी छन् । मंगलवार एक म्यूजिक भिडियोका लागि पहिरन छनोट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उषा सवार स्कूटरलाई ठक्कर दिएको हो । दुर्घटनापछि उनले स्कूटर चालकविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उनको स्कूटरलाई ठक्कर दिने स्कूटरका चालकसँग लाइसेन्स नभएको जानकारी प्राप्त छ ।
दुर्घटनापछि सामान्य उपचार गरेर उषा घर फर्किएकी थिइन् । तर, साँझ असैह्य दुखाई भएपछि उनलाई परिवारका सदस्यले नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेका थिए । उनको बाँया पट्टीको घुँडा र टाउकोमा चोट लागेको तर बाहिर नदेखिएको निर्देशक सुव्रत आचार्यले जानकारी दिए । उषा बुधवार निर्देशक आचार्यको एक भिडियोमा अभिनय गर्ने तयारीमा थिइन् ।
उषा रजकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै निर्देशक आचार्यले भने- ‘सिटी स्क्यान गरेर हेर्दा उनलाई भित्री चोट देखिएको छ । यद्यपि, उनको स्वास्थ्य अवस्था भने सामान्य छ । कोरोना परीक्षण गरेर अहिले उनलाई अस्पतालको आइसुलेसनमा राखिएको छ । कोरोनाको रिपोर्ट आएपछि बाँकी उपचार हुनेछ ।’ उनको दुर्घटना भएपछि भिडियोको छायांकन रोकिएको छ ।
उषाले सन् २००८ मा चलचित्र ‘वान डे’, सन् २००९ मा ‘इकु स् द जंगल म्यान’ र ‘कुसुमे रुमाल २’, सन् २०१३ मा ‘कथा’, सन् २०१९ मा ‘कठपुतली’ मा अभिनय गरिसकेकी छन् । उनले सन् २००६ मा मिस नेपाल यूनिभर्सिटीको उपाधि पनि जितेकी थिइन् । आठ वर्ष किर्गिस्तान बसेर नेपाल फर्किएकी उनले ‘बाँकी उज्यालो’, ‘अर्को कुरुक्षत्र’ लगायतका नाटकमा समेत अभिनय गरिसकेकी छन् ।