लोकप्रिय नेप्लिज अमेरिकन रक व्यान्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ । २० वर्षअघि नै सार्वजनिक भएर लोकप्रियता कमाउन सफल व्याण्डको ‘कुनै जादु’ बोलको गीत अनप्लग्ड भर्सनमा आएको हो ।
अमेरिकामा रहँदै आएका व्याण्डका भोकलिष्ट प्रइन सिंहले लकडाउनको समयलाई सदुपयोग गर्दै स्टुडियोमा एक्लै बसेर कुनै जादु बोलको सो गीत यत्तिकै पियानो बजाएर गाई साथीहरुलाई पठाउँदा सबैले मन पराई पियानोमा त झनै राम्रो सुनियो भन्दै सार्वजनिक गर्न सल्लाह दिएपछि उनले पियानोको भरमा गाएको गीत युट्युबमार्फत् सार्वजनिक गरेका हुन् ।
यो गीत पहिला नसुनेका मानिसहरुले पनि कस्तो राम्रो भनेपछि प्रइनसँगै व्याण्डका सदस्यहरु उत्साहित हुँदै युट्युबमार्फत् लिरिकल भिडियोका रुपमा यसको नयाँ भर्सन सार्वजनिक गरिएको हो । २० वर्षअगाडि चलेका गीत नयाँ पुस्तालाई पनि सुनाउनु पर्छ भनेर युट्युबमा नयाँ भर्सन अपलोड गरेको भोकलिष्ट प्रइनले सुनाए ।
यो गीत द भाइब्ज व्याण्डका भोकलिष्ट प्रइनको पहिलो कम्पोजिशन थियो । प्रइन माइक्रोसफ्टमा हटमेल इन्जियिनरका रुपमा कार्यरत छन् । उनको दाजुभाई नै संगीतकर्मी हुन् । उनका दाई मनोज सिंह ग्रामी अवार्ड मनोनयनमा पर्न सफल संगीतकर्मीसमेत हुन् । द भाइब्ज व्याण्डका हरेक गीतमा मनोजले नै बाँसुरी वादन गर्दै आएका छन् ।
२ दशकअघिको यो गीत अर्चना श्रेष्ठले रचना गरेकी हुन् । संगीत पनि प्रइनको हो । द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो । व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा ‘द भाइब्ज जेनेरेशन’ को नाममा रक गिती अडियो एल्बम सार्वजनिक गरेको थियो ।
अडियो सुन्नुहोस् :-