जीवन्त अभिनय गर्ने कलाकारका रुपमा चिनिएका गौरव पहारीलाई ‘साइँली’ गीतले दर्शकको ठूलो वर्गमा चिनायो । यो गीतको भिडियोमा उनको अभिनय निकै रुचाइएको थियो । म्यूजिक भिडियोमा खासै नदेखिने गरेका उनी ‘साइँली’ को सफलतासँगै म्यूजिक भिडियोहरुमा समेत देखिन थाले । पछिल्लो समय उनले अभिनय गरेको लोक गीत ‘बाँचेको छु धन्न’ रिलिज भएको छ ।
शिव सुवेदीको शब्द तथा संगीत रहेको उक्त गीतमा गौरवले मोडल आशा खड्कासँग अभिनय गरेका छन् । उनको अभिनयलाई फेरी एकपटक रुचाईएको छ । ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतका रचनाकार तथा संगीतकार शिव सुवेदीको गीतमा गायिका समिक्षा अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ ।
अभिनेता पहारी आफूलाई नाच्नमा समस्या हुने भएकाले कथा बुनिएको भिडियोमा काम गर्न मन लाग्ने बताउँछन् । म्यूजिक भिडियोमा कथा भए आफू सहर्ष काम गर्न राजी हुने उनको भनाई छ । उनी आफूलाई डान्सिङ नम्बरको गीत भने अफर नगर्न निर्देशकलाई आग्रह गर्छन् । ५ मिनेटको भिडियोमा कथा भनेर कुनै भूमिका निर्वाह गर्न सके दर्शकहरुलाई पनि हेर्न मज्जा आउने उनको तर्क छ ।
‘सुन साइँली’ गीतपछि गौरवले लगातार म्यूजिक भिडियोमा काम गरिरहेका छन् । आजभोली चलचित्रभन्दा भिडियोमा रस पसेको हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म एउटा कलाकार हुँ । म जहाँ आफ्नो कला देखाउने ठाउँ पाउँछु, त्यो गर्छु । म चलचित्र वा म्यूजिक भिडियो भनेर भेदभाव गर्दिनँ । चलचित्र होस् वा सर्ट मुभी, जहाँ आफ्नो कला देखाउन पाउँछु, म काम गर्न तयार हुन्छु ।’
चलचित्र ‘साइँली’ पछि म्यूजिक भिडियोमा व्यस्त रहेका अभिनेता गौरव पहारीले केही समय अगाडि चलचित्र ‘हुतुतु’ साइन गरेका छन् । कोरोना महामारीपछि छायांकनमा जाने यो चलचित्रलाई लिएर उनी निकै उत्साहित छन् । कोरोनाका कारण धरासायी बनेको चलचित्र क्षेत्रलाई माथि उठाउन कलाकारदेखि प्राविधिकसम्मले पारिश्रमिक घटाएर चलचित्रमा काम गर्नुपर्ने उनको सुझाव छ ।
भिडियो :-