बलिउड निर्देशक निशिकान्त कामतको सोमवार निधन भएको छ । हैदराबादको एक अस्पतालमा लिभर सिरोसिसका कारण उनको निधन भएको हो । उनका नजिकका साथी अजय रायका अनुसार, कामतको अन्तिम दाह संस्कार हैदराबादमा नै गरिनेछ । उनको दाह संस्कारमा ४/५ जना साथीको मात्र उपस्थिति रहने बताइएको छ । कामतको परिवारमा विरामी पिता मात्र छन्, जो ९० वर्षका छन् ।
निर्देशक निशिकान्त हैदरावादस्थित एआइजी अस्पतालमा जुलाई ३१ देखि नै भर्ना भएका थिए । उनी लामो समयदेखि लिभर सिरोसिस नामक विरामीबाट पीडित थिए । महाराष्ट्रमा जन्मिएका उनले अजय देवगन र तब्बू स्टारर ‘दृश्यम’, इरफान खान स्टारर ‘मदारी’ जस्ता चलचित्रको निर्देशन गरेका थिए भने जोन अब्राहमसँग ‘फोर्स’ र ‘रकी ह्यान्डसम’ जस्ता चलचित्र पनि बनाएका थिए ।
उनले सन् २००५ मा मराठी चलचित्र ‘डोम्बिभाली फास्ट’ बाट निर्देशनमा डेब्यू गरेका थिए । यो चलचित्रलाई मराठी बेस्ट फिचर चलचित्रका लागि राष्ट्रिय अवार्ड मिलेको थियो । बलिउडमा भने कामतलाई सन् २०१५ मा आएको चलचित्र ‘दृश्यम’ बाट पहिचान मिलेको थियो । उनले ‘हवा आने दे’, ‘४०४ एरर नट फाउन्ड’, ‘रकी ह्यान्डसम’ जस्ता हिन्दी चलचित्रमा अभिनय पनि गरेका छन् ।