बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षिय उनले यो कुराको जानकारी आफैंले ट्विटरमार्फत् दिएका हुन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘मलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल भर्ना भएको छु । अस्पताल प्रशासनले सम्बन्धित निकायलाई खबर गरिसकेको छ ।’
उनले आफ्नो परिवार र स्टाफको पनि कोरोना परिक्षण भइरहेको जानकारी दिएका छन् । गएको १० दिनयता आफूसँग नजिक रहेका सबैलाई उनले परिक्षण गराउन पनि आग्रह गरेका छन् । अस्पताल स्रोतका अनुसार, अहिले अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था ठीक छ । भारत सरकारले लकडाउन घोषणा गरेपछि घरमै रहेका पछिल्लो रिलिज चलचित्र ‘गुलाबो सिताबो’ हो ।
अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि बलिउड र राजनीतिक क्षेत्रमा चिन्ताको माहोल बनेको छ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । भने, अभिनेत्री रवीना टण्डनले ट्विट गर्दै लेखेकी छन्, ‘तपाईं चाँडै ठीक हुनुहोस् भनेर म प्रार्थना र कामना गर्दछु ।’
अमिताभसँगै उनका छोरा अभिषेक बच्चनमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । अमिताभलाई कोरोना पुष्टि भएपछि सबै सदस्यको परिक्षण गरिएको थियो । अभिषेकले ट्विटरमार्फत् आफू र पितालाई कोरोनाको संक्रमण देखिएको बताएका छन् । उनले आफू र आफ्नो परिवारसँग नजिक रहेका व्यक्तिलाई परिक्षण गराउन आग्रह गर्दै नआत्तिन अपिल गरेका छन् ।