स्व. गायक वासुदेब मुनालको जन्मजयन्तीमा बालबालिकालाई सहयोग



काठमाण्डौ। चर्चित रेडियोकर्मी तथा लोक गायक स्व. बासुदेव कोइराला ‘मुनाल’को ७१ औं जन्मजयन्तीको अवसरमा बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।

मुनालको स्मृतिमा गठित ‘बासुदेव कोइराला मुनाल स्मृती फाउण्डेशन’ले काठमाण्डौ र ललितपुर आश्रममा रहेका ३७ जना बालबालिकालाई एक महिना पुग्ने खाद्यान्न वितरण गरिएको स्व. मुनालका छोरा मोहित मुनालले बताए । काठमाण्डौको किर्तिपुरस्थित ‘बेबी लाईफ होम’मा रहेका २७ जना र ललितपुरको कुसुन्तीस्थित ‘नेपाल स्नेही काख’का बालबालिकालाई सहयोग प्रदान गरिएको हो ।

बेबी लाईफ होममा २७ जना एचआईभि पोजेटिभ रहेका बालबालिकाले संरक्षण पाईरहेका छन् । बेबी लाईफ होमले ‘सफलता एचआईभि शिक्षा सदन’ नामको विद्यालय समेत संचालन गरेको छ । कक्षा १० सम्मको पढाई हुँदै आएको यस विद्यालयमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थी एचआईभि पोजेटिभ हुन् । यो विद्यालयले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ‘विश्वमा नै एक मात्र पहिचान सहितको विद्यालय’को रेकर्ड समेत राखेको छ । ‘नेपाल स्नेही काख’मा १० जना बालबालिका रहेका छन् भने ६५ जना मनोरोगीहरु रहेका छन् । यस संस्थाले सडकमा अलपत्र मनोरोगीहरु र तीनका बच्चाहरु साथै बेवारिसे बालबालिकालाई उद्दार गरेर संरक्षण गरिरहेको छ ।

स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका ईच्छा बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनबाट पूरा गर्ने बताए । उनले भने, ’बुबाले धेरै सपनाहरु देख्नु भएको थियो । बुवाको सपना मध्यको एक बालबालिकाको सेवा पनि हो । अहिलेको कठिन समयमा जे जति सक्यौं त्यति नै गरेका छौं । आउने पुस्ताले बासुदेव कोइराला ’मुनाल’ सम्झन हामीले अरु कार्यक्रमहरु पनि गर्नेछौं ।’

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १२ गते निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मष्तिकघात र घाँटीको क्यान्सरबाट पीडित थिए । नौं वर्षसम्म मष्तिकघातले थलिएका उनको निधन भने क्यान्सरका कारण भएको थियो ।

Late Basudev Munal

जीवनका तीन दशक बढि समय रेडियो नेपालको एउटै बाल कार्यक्रम संचालन गरेका मुनालले ‘झम झम ईष्टकोट’, ‘लालुपाते फुलेर लाल भयो’, ‘पानी खाने निहुले तिम्रो घरमा आउँला’, ‘बासुरीको धुनमा मादलुको तालमा’ जस्ता दर्जनौं लोक गीतहरु, सय भन्दा बढि बाल गीतहरु, दर्जनौं बाल साहित्य कृतिहरु प्रकाशित छन् । स्व. मुनालले बाल कार्यक्रममा सुरिलो आवाजमा ‘आओ मेरा प्यारा भाईबहिनीहरु, रेडियो नजिक आओ’ भनपछि बालबालिकाहरु मन्त्रमुग्ध हुन्थे । स्व. मुनालको बाल कार्यक्रममा सहभागीहरु अहिले नेपालका चर्चित व्यक्तित्वहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu