गएको केही दिनअघि अभिनेता पल शाहले चलचित्रमा काम गरेको पारिश्रमिक निर्माताले वर्षौंसम्म विभिन्न बहाना बनाएर झुलाउने गरेको गुनासो पोखे । यसपछि अन्य कलाकारहरुले पनि निर्माताले पारिश्रमिक झुलाउने गरेको अभिव्यक्ति दिइरहेका छन् । कलाकारले काम गरेको पारिश्रमिक नपाउने समस्या नेपाली चलचित्र क्षेत्रमा मात्र होइन, सांगीतिक क्षेत्रमा पनि छ ।
गायक सुगम पोखरेलले आइतवार आफ्नो आधिकारिक फेसबुकमा लेखेको कुराले देश तथा विदेशमा कार्यक्रम गरेको पारिश्रमिक महिनौंसम्म नपाउँदा गायक-गायिकाहरु कसरी पीडित भएका छन् भन्ने वास्तविकता उदाङ्गो पारेको छ । उनले ७ देखि १ वर्ष अगाडि गरेको कार्यक्रमको पारिश्रमिक २४ घण्टाभित्र उपलब्ध नगराए तस्विरसहित नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘अति भयो त्यसैले लेख्न बाध्य भएँ । गएको वर्ष देश अनि बिदेशमा गरेका केही कार्यक्रमको पाउन बाँकी पारिश्रमिक, आयोजक साथीभाइहरुले झुलाइरहेको महशुस भयो । त्यसैले २४ घण्टाभित्र यसको उचित समाधान नभएमा तपाईंको सुन्दर तस्विरसहित नाम सार्वजनिक गर्नेछु ।’ उनले आफ्नो सहनशिलतालाई कमजोरी नठान्न पनि कार्यक्रम आयोजकहरुलाई आग्रह गरेका छन् ।
गायक पोखरेलले २४ घण्टाभित्र कार्यक्रम गरेको पारिश्रमिक उपलब्ध नगराए सम्झौता पत्र र प्रमाणअनुसार कानुनी बाटो रोज्ने बताएका छन् । उनको यो पोस्टमा लोकप्रिय गायक प्रमोद खरेलले ‘सेम हेयर’ भनेर लेखेका छन् । उनको यो कुराले उनी पनि देश तथा विदेशमा गरेको कार्यक्रमको पारिश्रमिक नपाएर तनावमा रहेको बुझ्न सकिन्छ ।