बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईको बान्द्रास्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका छन् । उनको उमेर ३४ वर्षको थियो । उनी विगत ६ महिनादेखि डिप्रेसनमा रहेको बताइएको छ । बलिउडका अहिलेका चलेका अभिनेतामा गनिने सुशान्तको निधनपछि टिभी र बलिउड इन्डस्ट्री शोकमा डुबेको छ । अहिले पुलिस उनले आत्महत्या गर्नुको कारणबारे जाँच गरिरहेको छ ।
सुशान्तले बलिउडमा आफूलाई अब्बल अभिनेताको रुपमा स्थापित गरिसकेका थिए । उनी अभिनयसँगै अध्ययनको क्षेत्रमा पनि अब्बल थिए । सेन्ट क्यारन हाई स्कूल र नयाँ दिल्लीको हंसराज मोडल स्कूलबाट आफ्नो स्कूलिङ पूरा गरेका उनी १२ पछि भने इन्जिनियरिङ लाइनमा लागे । उनले दिल्ली कलेज अफ इन्जिनियरिङमा मेकानिकल इन्जिनियरिङको अध्ययन गरेका थिए ।
सुशान्त पढाईमा होनहार थिए । उनले एक अन्तर्वार्तामा बताएका थिए कि दिल्ली कलेज अफ इन्जिनियरिङको इन्ट्रान्स परिक्षामा ७औं स्थान मिलेको थियो । तर, तीन वर्षसम्म इन्जिनियरिङ गरेपछि यसलाई आधामै छाडेका उनी आफ्नो सपना पूरा गर्न मुम्बई हानिए । वर्ष २००८ मा ‘किस देश में है मेरा दिल’ सिरियलका लागि छनोट गरेपछि उनको नयाँ सफर सुरु भएको थियो ।
यसपछि उनले ‘पवित्र रिश्ता’ सिरियलमा काम गरे । यो सिरियलले उनलाई ठूलो ख्याती दिलाएको थियो । ‘काई पो छे से’ चलचित्रबाट बलिउडमा ब्रेक पाएका उनले ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’, ‘छिछोरे’, ‘केदारनाथ’, ‘राबता’ र ‘ड्राइभ’ जस्ता चलचित्रमा काम गरेका छन् । उनी अभिनीत चलचित्र ‘धोनी’ ले बक्सअफिसमा २ सय करोडभन्दा बढी कमाएको थियो ।