सुप्रसिद्द गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहिवार दिउँसो १२ बजे ८१ बर्षको उमेरमा काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा थापाको निधन भएको हो ।
थापा लामो समयदेखि ढाड दुख्ने समस्याबाट पीडित थिए । कोरोना भाइरस परीक्षणको रिपोर्ट आएपछि मात्र अन्तिम संस्कार गरिने बताईएको छ ।
थापाका घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै जस्ता गीतहरू कालजयी छन् ।
थापाका शब्दमा स्वर सम्राट नारायण गोपाल, प्रेमध्वज प्रधान, योगेश वैद्य लगायतले स्वर दिएका छन् । उनका कविता संग्रहहरु ‘चक्ला भरीको घाम’ र ‘ताराका काँचा रङ्ग’ र गीति संग्रहहरू ‘ओभानो सिउँदो’ र ‘रुझेका परेला’ सार्वजनिक छन् । देवकोटा साहित्य पुरस्कार, युग कवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, साधना सम्मान, हिट्स एफएम लाइफ टाइम अचिभमेन्ट अवार्ड, छिन्दलता पुरस्कार लगायतका पुरस्कार तथा सम्मान उनले प्राप्त गरेका थिए ।