काठमाण्डौ। ‘नेपाल प्रजातन्त्र रेडियो’की प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । काठमाण्डौस्थित केएमसी अस्पतालमा ८४ वर्षको उमेरमा बिहिबार राति १०:५५ मा निधन भएको बताईएको छ । उनको बिहीबार राति नै अन्त्येष्टि गरिएको छ ।
रानुदेवी अल्जाइमर्स र पार्किन्सन्सबाट पीडित थिइन् । उनलाई बिहीबार नै अस्पताल लगिएको र अस्पताल लगिएको केहीबेरमा निधन भएको हो ।
‘रेडियो नेपाल’ स्थापना पूर्व विराटनगरको जुट मिल्स एरियामा ‘क्रान्तिको आवाज’को रूपमा आकाशवाणीबाट जन्म भएको ‘नेपाल प्रजातन्त्र रेडियो’मा उनले प्रथम पटक गीत गाएकी थिइन् । २००७ साल मंसिर २८ गते १६ वर्षीया बाला रानुदेवीले प्रत्यक्ष रुपमा गीत गाएकी थिइन्, ‘नेपाली, नेपाली, अघि बढौं हातमा क्रान्ति झन्डा लिई ।’ यो गीत कांग्रेसको प्रचार नाराका रूपमा आएपछि प्रतिबन्धित भएको थियो ।
तारिणीप्रसाद कोइरालाले सुरु गरेको सो रेडियोबाट उनी राणाशासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् ।
उनका एक छोरा र दुई छोरी छन् । उनी कान्छी छोरीसँग काठमाडौंमा बस्दै आएकी थिइन् भने छोरा र जेठी छोरी संयुक्त राज्य अमेरिकामा बस्छन् ।
इतिहास नबिगारौँ: रेडियो नेपालकी प्रथम गायिका कोइलीदेवी हुन्
गायिका रानुदेवीको निधन भएपछि सामाजिक संजाल तथा नेपाली संचारमाध्यमहरुमा रानुदेवी ‘रेडियो नेपाल’की प्रथम गायिका हुन भन्ने समाचार आएका छन् । तर, ‘रेडियो नेपाल’की प्रथम गायिका रानुदेवी नभएर कोइलीदेवी माथेमा ‘पान्तारी’ हुन् ।
कुनै समय रानुदेवीको अन्तर्वार्ता लिएका रेडियोकर्मी तथा साहित्यकार भुपेन्द्र खड्का भन्छन्, ‘नेपाल प्रजातन्त्र रेडियो’की प्रथम गायिका रानुदेवी हुन् भने रेडियो नेपालकी प्रथम गायिका कोइलीदेवी माथेमा ‘पान्तारी’ हुन् । इतिहास नबिगारौँ’ ।
रेडियो नेपालको स्थापनापछि पहिलो पटक वि. सं. २००७ साल चैत २६ गते आफ्नै रचना र सङ्गीतमा कोइलीदेवीले गीत गाएकी थिइन् । उनले ‘संसारको झमेला लाग्दछ क्या यो मेला, यो दुनिया सदा रसिलो’ रेकर्ड गरी गायनयात्रा थालेकी थिइन् । यो स्वर नै रेडियो नेपालको प्रथम गायिकाका रुपमा मानिन्छ ।