✍ कविता पराजुली
———————————————————————-
कोलाहल थियो शहर, घचपचमा हुन्थे मान्छे यहाँ
टुहुरो दूधे शिशुले आमा सम्झेर रोए जसरी
घरको भान्सा सम्झेर कति जवानहरू रुन्थे यहाँ
छाक टार्न दिनभरी सडकका गल्ली छिचोल्दै
संघर्षका कथा बुन्दै, निभ्न आँटेको दियोमा तेल थपे जसरी
पण्डितले ग्रह दोष मेटाउन मन्त्र जपे झैं गरी
केहि आशा बोकी हिँड्नेहरु
आफ्ना अनेकौं रहर अनि भावनासँग भिड्नेहरु
कति गुमराहमा बित्थे दिनहरु
कति तड्पाईमा सकिन्थे रातहरु
घरी घरी जिन्दगी सम्झिँदा मरुमरु लाग्ने
मृत्युको भयले आज फेरी त्यही ठाउँ फर्काएको छ
कति सम्झिरहन्थे ति भिरपाखाले
अनि घर पछाडिका बारीका कान्लाले
कति खोजी रहन्थे खेतका आलीले
कति उल्लास लागे होला आज आली र कान्लाहरूलाई
भान्साको अगेनामा बस्दै सम्झिरहने आमा
पिढीमा बसेर अहोरात्र बाटो हेरिरहने बा
शहर छिरेका सन्तान घर पोत्न झर्लान् भन्ने आशा
आज धेरैका यि आशा मेटिएका छन्
आज टुट्नै आँटेका मुटु भेटिएका छन्
बर्षौँदेखि आफ्नाहरुको स्पर्शलाई महसुस गर्न आतुर
गोठको एउटा कुनामा पर्खेर बसिरहेका हलो जुवा
गोठमा तंग्रिएका एक जोडी गोरू
काफलका दानाहरु भुइँभरि छरिँदा विरक्त मान्ने चरी
यो बर्ष यस्तो नहुने भयो दंग छ देखेर
यतिबेला काफलका रुखमा पुराना संगी साथी भेटेर
अनि फेरी यतातिर
यो शहर अनि यहाँका विवश मजदुर
केहि हजार भाडा तिरेर अँध्यारो डेरामा बस्ने उनीहरू
स साना छोरा छोरी अनि प्यारी
कठै अब उनीहरूको छाक टर्छ होला क्यारी..!
मजदूरी गरी केहि जोहो गर्न बिहानै निस्केका
साँझ डेरा पुग्न नसकेर बाटो कै छेउछाउमा अलपत्र छन्
एक ठाउँ हैन यत्रतत्र छन्
झ्यालबाट बालाई चिहाई बसेका छोरा छोरी
तिनै सन्तानको भोक मेट्न बाटोमै दिनभरी रातभरी
पेट भर्न पेटी अनि मन्दिर छेउ कचौरा बोकि बस्नेहरू
भोकमा खाना खोज्न फोहोरको थुप्रोतिर पस्नेहरु
आजभोलि कहाँ के गर्दै छन् होला
भित्रैदेखि तड्पिएर कतै मर्दैछन् होला..?
अर्कोतिर,
सिमानामा कैयौं प्रवासीहरु
शिशु देखि वृद्द सम्म
आफ्नै देश फर्किने आशले
थाहा छैन कतिन्जेल साथ देला त्यो सासले
के रहेछ जिन्दगी
सबैलाई समान कहाँ रहेछ जिन्दगी
खाना पचाउन यहाँ भागदौड गर्न पाउने पनि छन्
सन्तान बचाउन यहाँ भागदौड गर्न नपाउने पनि छन्
कसैको सुख, कसैलाई दुःख
कसैको हाँसो, कसैलाई आँशु
कोहि बाँच्नु, कोहि मर्नु सरह हुने रहेछ यहाँ
सबैलाई समान कहाँ हुने रहेछ र जिन्दगी
जस्तै भएपनि यो महामारीले अब बाँकि कसैलाई नभेटोस्
जति मेटाउनु थियो मेटाइसक्यो मान्छे
अब शान्ति होस्, कसैलाई नमेटोस्
अब शान्ति होस्, कसैलाई नमेटोस् ।