नेपाली कलाकार सुनिल थापालाई फेरि एकपटक बलिउड चलचितत्रमा देख्न पाइने भएको छ । उनले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको चलचित्र ‘क्वाथा’ मा अभिनय गर्ने भएका छन् । बलिउड अभिनेत्री कैटरीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्ने यो चलचित्रमा सुनिलले भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन् ।
सलमानका ज्वाईं आयुष शर्माको प्रमुख भूमिका रहने फिल्मलाई करण भुटानीले निर्देशन गर्दैछन् । सुनिलले फिल्म गर्ने विषयमा मौखिक सहमति भए पनि लिखित सम्झौता नभएको बताए । उनी चाँडै मुम्बई गएर कागजी रुपमा फिल्म सम्झौता गर्ने सोचमा छन् । जनवरीदेखि ‘क्वाथा’ को छायांकनमा व्यस्त हुने उनले बताए । त्यसअघि उनले तीन नेपाली फिल्मको छायांकन भ्याउनेछन् ।
आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न राजी भएको उनको भनाई छ । यो फिल्मको नेपालमा छायांकनका लागि आफूले पहल गरिरहेको पनि सुनिल थापा बताउँछन् । उनी भन्छन्, ‘फिल्मको छायांकन थाइल्यान्डमा गर्ने तयारी भइरहेको रहेछ, मैले युनिटलाई छायांकनका लागि नेपाल आउने प्रस्ताव गरेको छु । यो हुन सकेको खण्डमा नेपालको पर्यटन प्रवर्द्धन पनि हुनेछ ।’
खलपात्रको भूमिकामा निकै रुचाएका कलाकार सुनिल थापाले तीन सयको आसपासमा नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । उनले नेपालीसँगै बलिउड चलचित्रमा पनि काम गरेका छन् । सन् १९६४ मा चेतन आनन्दको चर्चित चलचित्र ‘साहिब बहादुर’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए । पछिल्लो पटक उनी चलचित्र ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए ।