बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ‘महाभारत’ की द्रौपदीको भूमिकामा देख्न पाइने भएको छ । महाभारतको पौराणिक कथामा आधारित भएर एक पटक पुनः ठूलो पर्दाको फिल्म बन्ने भएको छ । उक्त फिल्ममा पादुकोणले प्रमुख भूमिका निभाउने भएकी छन् ।
यसअघि विभिन्न भूमिका निभाएर दर्शकको मन जित्न सफल भएकी पादुकोणलाई ‘महाभारत’ की द्रौपदीको रुपमा ठूलो पर्दामा देख्न पाइने भएको हो । ‘महाभारत’ को कहानीलाई द्रौपदीको नजरबाट ठूलो पर्दामा बनाउन लागिएको हो । ‘महाभारत’ निकै लोकप्रिय र महत्वपूर्ण कथामध्ये एक हो ।
आफू द्रौपदीको भूमिका निभाउन पाउँदा निकै खुशी र रोमाञ्चक भएको पादुकोण बताउँछिन् । ‘द्रौपदीको भूमिका निभाउन पाउँदा रोमाञ्चक र सम्मानित महसुस गरेको छु’, पादुकोणले भनिन्’, ‘महाभारतको पौराणिक कहानी र सांस्कृतिक प्रभावबारे सबैलाई थाहा छ, हामीले जीवनमा कैयौं शिक्षा महाभारतबाट सिक्छौं ।’
पादुकोण खेल्न लागेको ‘महाभारत’ लाई २ वा सोभन्दा बढी भागमा बनाउने तयारी गरिएको छ । यसको पहिलो भाग सन् २०२१ को दिपावलीमा रिलिज हुने अपेक्षा गरिएको छ । नयाँ ‘महाभारत’ लाई मधु मन्टेनाले निर्माण गर्न लागेका हुन् । सह-निर्माता भने पादुकोण आफैं बन्ने छिन् । चलचित्रमा खेल्ने अन्य पात्रका बारेमा भने टुंगो लागेको छैन ।