बलिउडका दुई ठूला सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ अभिनीत चलचित्र ‘वार’ भोली (बुधबार) बाट प्रदर्शनमा आउँदैछ । पहिलो पटक ऋतिक र टाइगरले एकसाथ काम गरेका कारण यो चलचित्रको भारतसँगै नेपाली दर्शकमा निकै प्रतिक्षा थियो । अन्ततः बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको नेपालका मल्टीप्लेक्सहरुमा एडभान्स बुकिङ ओपन भएको छ ।
बुकिङ खुलेसँगै फिल्मको टिकट आक्रामक रुपमा विक्री भइरहेको छ । चलचित्रले नेपालका मल्टीप्लेक्सहरुमा सर्वाधिक सोज हात पारेको छ । नेपालको सबैभन्दा ठूलो र स्तरिय मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर छरिएका आफ्ना ९ स्टेशनमा चलचित्रलाई बुधबारका लागि कूल ५२ सोज बाँडेको छ । चलचित्रप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले यो संख्यामा सोज छुट्याएको हो ।
तर, ‘वार’ ले पाएको सोज संख्या गएको हप्ता प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ३’ भन्दा कम हो । यो चलचित्रले क्यूएफएक्समा पहिलो दिन ६४ सोज पाएको थियो । दोस्रो हप्ताको बुधबार पनि चलचित्रले २० सोज पाएको छ । यसको मतलब, ‘कबड्डी ३’ ले अझै पनि हलमा राम्रो व्यापार गरिरहेको छ । त्यस्तै, शुक्रबारबाट प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टीका निधारमा’ क्यूएफएक्समा ९ सोजमा खुम्चिएको छ ।
व्यापार गतिलो नभएका कारण चलचित्रको सोजमा कटौती भएको हो । अन्य मल्टीप्लेक्सहरुमा पनि ऋतिक र टाइगर स्टारर चलचित्र ‘वार’ ले उच्च सोज पाएको छ । सिडिसी सिनेमाज, विएसआर र क्यूज सिनेमाजमा समान्तर ८/८ सोज पाएको चलचित्रले बिग मुभिजमा १० सोज हात पारेको छ । त्यस्तै, एफक्यूबले फिल्मलाई १३ सोज बाँडेको छ । नेपालका मल्टीप्लेक्सले उपलब्ध गराएको सोज हेर्दा ‘वार’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्ने देखिन्छ ।