श्रीलंकामा आयोजना भएको ‘दी सार्क फिल्म अवार्ड २०१९’ मा गत वर्ष नेपालमा प्रदर्शन भएको विनोद पौडेलको डेब्यू निर्देशित चलचित्र ‘बुलबुल’ ले अवार्ड हात पारेको छ । यो चलचित्रमा जीवन्त अभिनय पस्किएकी अभिनेत्री स्वस्तिमा खड्काले ‘सार्क फिल्म फेस्टिभल’ मा ‘वेष्ट पफर्मर जुरी अवार्ड २०१९’ जितेकी हुन् । अवार्ड जितेपछि उनले फेसबुकमार्फत् आफ्ना प्रशंसकसँग खुसी साटेकी छन् ।
स्वस्तिमाले चलचित्र करिअरमा पहिलो पटक अवार्ड जितेकी हुन् । उनले ‘सार्क फिल्म फेस्टिभल’ मा जितेको अवार्ड ‘बुलुबल’ टिमलाई समर्पित गर्न चाहने फेसबुकमा उल्लेख गरेकी छन् । अवार्ड जितेपछि उनले आफू निकै खुसी भएको प्रतिक्रिया दिएकी छन् । जुलाई २ देखि ७ सम्म भएको यो फेस्टिभलमा सहभागी हुन उनी गएको हप्ता श्रीलंका पुगेकी थिइन् ।
‘बुलबुल’ सँगै सार्क फिल्म फेस्टिभलमा ‘प्रसाद’ र ‘हरि’ ले पनि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । अवार्ड जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै स्वस्तिमाले भनिन्, ‘पहिलो अवार्ड नै अन्तर्राष्ट्रिय पाएँ । एकदमै खुसी छु । यो अवार्डले अझै उत्साहित भएर काम गर्न प्रेरणा मिलेको छ ।’ अवार्ड पाउँदा आफूले देशलाई सम्झिएको उनको भनाई छ ।
व्यावसायिक सफलतामा पछि परे पनि ‘बुलबुल’ लाई समीक्षकले निकै प्रशंसा गरेका थिए । अहिले यो चलचित्रले विदेशमा आयोजना हुने विभिन्न फेस्टिभलहरुमा सहभागिता जनाइरहेको छ । निर्देशक पौडेल चलचित्रको प्रदर्शनका लागि केही हप्तायता अमेरिकामा छन् । उनले चलचित्रले ‘सार्क फिल्म फेस्टिभल’ मा अवार्ड जितेपछि खुसी व्यक्त गरेका छन् । यसमा अभिनेत्री खड्काको अपोजिटमा मुकुन्द भुषालको अभिनय छ ।