एक समय नेपाली चलचित्रमा एकछत्र राज गरेका अभिनेता विराज भट्टले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’ प्याकअप भएको हो । क्यामेरा ‘अन’ भएको ५० दिनमा चलचित्रको छायांकन सकिएको हो । डोटीबाट चलचित्रको छायांकन सुरु भएको थियो । काठमाडौंमा केही सिन खिच्दै फिल्म प्याकअप भएको हो । चलचित्रलाई भदौमा रिलिज गर्ने सोचमा विराज छन् ।
किड्नी तस्करीको कथा बोल्ने बताइएको चलचित्रमा विराज स्वयंको प्रमुख भूमिका छ । उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेकी छन् । केही हप्ता अगाडि डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो चलचित्र विवादमा तानिएको छ । यसअघि पनि विराजले प्राविधिक कुटेपछि चलचित्र विवादमा घेरिएको थियो ।
विराजले करीब ३ वर्षदेखि नेपाली चलचित्रमा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो चलचित्र ‘जय परशुराम’ हो । ‘साङ्लो’ मा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि चलचित्र ‘लभ स्टेशन’ मा उनले अभिनय गरेका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको चलचित्रमा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ ।
चलचित्रमा विराज र निकिता प्रेम-प्रेमिका हुँदै श्रीमान्-श्रीमतिको भूमिकामा देखिने जानकारी प्राप्त छ । यस चलचित्रलाई लिएर निकिता निकै उत्साहित छिन् । यसअघि उनले चलचित्र ‘रानी महल’ साइन गरेकी थिइन् । तर, आधा छायांकन नसकिँदै अब कहिल्यै नबन्ने गरि चलचित्र थन्कियो । यसपछि उनी ‘साङ्लो’ मा जोडिइन् । दर्शकलाई यो चलचित्रको व्यग्र प्रतिक्षा छ ।