‘आप्पा’ मा दयाहाङको छोराको भूमिकामा सिद्धान्त थिएनन् पहिलो रोजाइ



एक छोरा र पिताको सम्बन्धको कथामा आधारित चलचित्र ‘आप्पा’ यही शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । एक छोरा र पिताको सम्बन्धको कथामा आधारित यस चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । उनले पहिलो पटक निर्देशनमा हात हालेका हुन् । कथा पनि उनकै हो । चलचित्रमा दयाहाङ राई प्रमुख भूमिकामा छन् । उनको छोराको भूमिकामा सिद्धान्त राज तामाङले अभिनय गरेका छन् ।

तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्कीलगायतका कलाकारको पनि चलचित्रमा अभिनय छ । चलचित्रमा रुदेन सादा लेप्चाको लगानी रहेको छ । कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । गीतसंगीत र ट्रेलरमा देखिएको मेकिङ र चलचित्रले उठान गरेको कथावस्तुका कारण ‘आप्पा’ फरक स्वादको पखाईमा रहेका दर्शकलाई गतिलो खुराक हुनसक्ने कतिपयको विश्लेषण छ ।

निर्देशक अनमोलका अनुसार, चलचित्रमा अभिनेता दयाहाङको छोराको भूमिकामा सिद्धान्त ‘फस्ट च्वाइस’ थिएनन् । बेङ्गाली लुक्स भएको र शुद्ध नेपाली भाषा बोल्ने युवकको खोजीमा थिए, उनी । तर, लामो समय उनले कथाको मागअनुसार उपयुक्त पात्र भेटेनन् । अन्ततः उनी अभिनयमा खारिएका अभिनेता नाजिर हुसेनलाई अप्रोच गर्ने निर्णयमा पुगे । उनी धेरथोर त्यस क्यारेक्टरमा सुहाउँदा थिए ।

तर, एक दिन उनको आफ्नै अफिस (भारत कालिम्पोङ) मा सिद्धान्तसँग भेट भयो । सिद्धान्त छेवैको एक रेस्टुराँमा वेटर थिए । उनीमाथि नजर परेपछि निर्देशक गुरुङको दिमागबाट नाजिर हटे । अनमोल भन्छन्, ‘चलचित्रले मागेको पात्र नै सिद्धान्त हुन् । उसलाई भेटेपछि मैले दिमागमा आएका सबै अनुहार विर्सिए । उसको पहिलो चलचित्र भए पनि अभिनयमा खोट लगाउने ठाउँ छैन ।’

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ शैकात देवको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । यो चलचित्र भारतका २५ हलमा पनि फिल्म एकसाथ प्रदर्शन हुने निर्देशक अनमोलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu